विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन : सचिव भट्टराई

विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन : सचिव भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्न नहुने बताएका छन् ।

नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै सचिव भट्टराईले सभ्यता र संस्कृतिलाई जोगाउँदै विकासका काम अघि बढाउनुपर्ने बताए ।

एमाले हिजोदेखि नै सभ्यता र संस्कृतिको संरक्षणको पक्षमा रहेको बताउँदै उनले सम्पदाको संरक्षण गर्दै विकासको काम अघि बढाउनुपर्ने बताए । ‘विकास निर्माणको काममा कसैले पनि अवरोध गर्नुहुँदैन,’ उनले भने ।

कुनै पनि योजनामा समस्या छ भने बसेर छलफल गरी समस्या समाधान गर्नुपर्ने उनले बताए । कुनै पनि हालतमा काम गर्न दिँदैनौं भनेर विकास विरोधी कुरा कसैले गर्नु नहुने उनले स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै भट्टराईले ताप्लेजुङ जिल्ला विकास निर्माणको हिसाबले निकै पछि परेकाले धेरै काम गर्नुपर्ने बताए । जिल्लामा निर्माणाधीन धेरै सडकको काम बजेट अभावको कारण रोकिएका उनले सुनाए ।

अहिलेको सरकारमा नेकपा एमाले सहभागी भएकाले छिट्टै बजेट विनियोजन गरी विकासको काम अघि बढाउनुपर्ने उनले बताए । जनप्रतिनिधिको हिसाबले आफू ती काममा निरन्तर लागिरहने उनले प्रतिबद्धता व्यक्त गरे ।