काठमाण्डु – नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखी काम गर्नुपर्ने बताएका छन् ।
बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेताको भोट बढाउनका निम्ति विमानस्थल बढाउन रोकी प्राथमिकतामा रहेको काम गर्नुपर्ने बताए ।
उनले भने, ‘५५ वटा विमानस्थल सबै सञ्चालनमा पनि छैनन्, करीब ३०–३२ वटा सञ्चालनमा होलान् । नीति कार्यक्रममा फेरि विमानस्थल थप्ने कुरा उचित छैन । यो राजनीतिक दबाब हो । दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति विमानस्थल बढाउनु हुँदैन । यसबाट राष्ट्रको ठूलो क्षति हुन्छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्राथमिकतामा हुनुपर्छ, अरु तत्कालै बनाउनुपर्छ जस्तो मलाई लाग्दैन भएका विमानस्थलको क्षमता बढाउने हो ।’
बैठकमा जनसंख्या, भूगोल, सडक यातायातको पहुँचसँगै विमानस्थलको प्राथमिकताका सन्दर्भमा छलफल गर्नुपर्ने उनले बताए ।
‘नेपाल हालसम्म ५५ वटा विमानस्थल हामीसँग छन् । यो विधेयकमाथि छलफल भइरहदा यस्ता कुरामा पनि छलफल हुनुपर्छ । अब हामीलाई कति वटा विमानस्थल चाइन्छ ? हाम्रो जनसंख्या, भूगोल, सडक यातायातको पहुँच आदि कुराहरू र विमानस्थलको प्राथमिकता के हो भन्ने सन्दर्भ पनि छलफल गर्नुपर्छ ।’
उनले हवाई सेवा प्राधिकरणको नेतृत्वमा नेपाल सरकारको कर्मचारीहरूभन्दा हवाई संस्थाका अनुभवी, क्षमता भएका व्यक्ति महानिर्देशन हुनुपर्ने समेत बताए ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले विमानस्थलको सञ्चालन र त्यस अनुसारको लगानीलाई एउटै दफामा नराखी छुट्टै बनाउनुपर्ने राय राखिन् । उनले हतारमा विधेयकको खाका तयार पारिएको भन्दै पुनर्लेखन गर्न सुझाव दिएकी छन् ।
बिहीबार बसेको समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि सांसद संशोधनकर्ताहरूसँग छलफल गरिएको छ ।




प्रतिक्रिया