काठमाण्डु– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जनताले आफूहरुको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकार गरेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै भट्टराईले उक्त कुरा आजको वस्तुगत यथार्थ रहेको बताएका हुन् । उनले आफूभित्र सर्वाङ्गीण रूपान्तरण मार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनु पर्ने बताएका छन् ।
अब एमालेले पुन: छलफल र बहस खुला गर्नु पर्ने भन्दै उनले भनेका छन् भाद्र २३ र २४ पछि लिएका नीति ठिक छैनन त्यसमा करेक्शन गरौ भनेर हामीले नेतृत्व र सिगो पार्टी पंतिलाई बैठक, भेटघाट र महाधिवेशन मार्फत पटक पटक अनुरोध गर्यौ तर सफल भएनौं ।
उनले हामी ढलेका मात्र हौँ, मरेका होइनौँ’ भन्दै योगेशको ७ बुँदे ब्रिफिङ गरेका छन् ।
उनले लेखेका छन्… निर्वाचनमा आफ़नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेका छन । यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वाङ्गीण रूपान्तरण मार्फत जनसमर्थन पुन: आर्जनको बाटो लिनु पर्दछ ।
मुलत: भाद्र २३ र २४ पछि हाम्रो पार्टीले लिएका नीति ठिक छैनन त्यसमा करेक्शन गरौ भनेर हामीले नेतृत्व र सिगो पार्टी पंतिलाई बैठक, भेटघाट र महाधिवेशन मार्फत पटक पटक अनुरोध गर्यौ तर सफल भएनौ । अब पुन: छलफल र बहस खुला गर्नु पर्दछ ।
हरेक सार्वजनिक संस्था/संगठनमा जिम्मेवारी र जवाफदेहीता अहम महत्वको सवाल हुने गर्दछ । नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नु पर्दछ । त्यस पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्दछ । यो सबैको जवाफदेहिता फेरी पनि प्रमुख नेता कै रहंन्छ । सफलता वा असफलता पछिको जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छ? पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नु पर्दछ ।
पार्टीले सामना गर्नु परेको अवस्था र असफलता सिगो पार्टीको असफलता हो । सामुहिक बुद्धि/विवेक र सामुहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थ: म सबै नेता कमरेडहरू र सिगो पार्टी पंतिलाई हिजोका गुट (समुह) का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु । साथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरुलाई आफना राय सुझावहरू पार्टी नेतृत्व समक्ष पठाउन अनुरोध गर्दछु ।
कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ । सहि नीति, सहि संगठन, सहि नेतृत्व, सहि व्यवहार र सहि कार्यशैली मार्फत हामी उठने छौ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरी उठाउने छौ । संयम र धैर्यताकासाथ पार्टीको एकता जोगाउन र सहि मार्गमा अघि बढ़न र आत्मभर्त्सना होइन आत्मसमिक्षाको बाटोमा हिड़न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।
राजनीतिक दल एउटा सार्वजनिक संस्था हुनुको नाताले नेकपा एमालेका बारेमा आफना सुझाव, आलोचना र टिप्पणीहरू पठाउन समस्त बुद्धिजीवी मित्रहरू र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
अन्तमा: राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा बाम- लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार हो । यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक बिचार र शक्तिका बिचका सकारात्मक सहकार्यका लागि सबैमा अपिल गर्दछु ।’




प्रतिक्रिया