लोकप्रियताको पहाडमा मन्त्री योगेशका पाइला : जनविश्वास पूरा गर्न सक्लान् ?

लोकप्रियताको पहाडमा मन्त्री योगेशका पाइला : जनविश्वास पूरा गर्न सक्लान् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने । मन्त्री बन्ने खबर सार्वजनिक भएसँगै उनीप्रतिको विश्वास, समर्थन र भरोसा सामाजिक सञ्जालमा छताछुल्ल भयो ।

मन्त्री योगेशको नजिकको घेरा र पार्टीका नेता कार्यकर्ताले मात्रै नभई प्रमुख प्रतिपक्षी दलका नेताहरूले समेत आशा देखाए र बधाई शुभकामना दिए ।

मन्त्री भट्टराईलाई शुभकामना दिँदै नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले फेसबूकमा लेखेका छन्, ‘योगेश भट्टराई दाई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस् । मन्त्रीको रूपमा तपाईंको सफलता तपाईं र तपाईंको पार्टीसँग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससँग जोडिएको छ । मुरीमुरी शुभकामना !’

नेता थापाले युवापुस्ताका नेताप्रति रहेको विश्वासलाई अभिव्यक्त गर्दै विश्वास कायमै रहने गरी काम गर्न संकेत गरे । नेपाली राजनीतिमा विश्वास गरिने नेतामध्ये गगन थापा पनि पर्छन् तर उनले स्वास्थ्य मन्त्री हुँदा जनविश्वासको खरो उत्रन नसकेको आरोप लाग्ने गरेको छ । स्वास्थ्यसँग सम्बन्धित समस्या ज्यूँका त्यूँ रहे, जनताले सिटामोलसम्म पाएनन् ।

नेपाली राजनीतिमा आशलाग्दा नेतामध्ये डा. बाबुराम भट्टराई समेत थिए । उनले प्रधानमन्त्री भएका बेला खासै काम गर्न नसकेका कारण उनको लोकप्रियता स्वाट्टै घट्यो । सरकारबाहिर हुँदा जतिसुकै लोकप्रिय भएपनि सरकारमा पुगेपछि लोकप्रियता घट्ने समस्या नेपाली राजनीतिमा रहँदै आएको छ । त्यही प्रवृत्तिको शिकार योगेश भट्टराईले नहुन जनविश्वास कायमै राख्न सक्नुपर्छ । मन्त्री भट्टराईले जनविश्वास कायमै राख्न सक्लान् ? यो प्रश्नको जवाफ अबका केही वर्षभित्र स्पष्ट हुनेछ ।

जनविश्वास कायमै राख्ने सूत्र बताउँदै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्री भट्टराईलाई शुभकामना दिएका छन् । उनले फेसबूकमा लेखेका छन्, ‘सम्भव भएसम्म राम्रो गर्नू, कम्तिमा बदनामी हुने कर्मबाट जोगिनु ! विद्यार्थी राजनीति क्रममा हार्दिकता र द्वन्द्वको दुई खाले मनस्थितिमा काम गरेको व्यक्तिगत अनुभव भन्छ योगेश भट्टराई मन्त्रीका रूपमा सुयोग्य हुनसक्छन् ! नयाँ जिम्मेवारीका लागि पुराना मित्रलाई हार्दिक बधाई !’ मन्त्री भट्टराईबाट कांग्रेस प्रवक्ताले समेत आश गरेका छन् तर तिनै प्रवक्ताले भट्टराईका ‘कर्म’बारे नराम्रो बोल्नुपर्ने अवस्था नआओस् भनेर सबैले मन्त्री भट्टराईलाई शुभकामना दिइरहेका छन् ।

सुखद र सन्तुलित संकेत !

मन्त्री भट्टराईले शपथ ग्रहण गरेपछि देखाएका व्यवहार सुखद र सन्तुलित छन् । उनी पार्टीभित्र कुनै गुट वा समूहको नेता मात्रै नभएर पार्टी बाहिर पनि विश्वासिलो नेता भएको संकेत दिने गरी बधाई आइरहँदा उनले समेत साझा बन्ने कोसिस गरेका छन् । कार्यभार सम्हाल्न मन्त्रालयको कार्यकक्षमा पुगेका मन्त्री भट्टराईले ‘यसअघिका सबै पर्यटन मन्त्रीको सुझाव लिएर अगाडि बढ्ने’ प्रतिवद्धता जनाएका छन् । यसअघिका मन्त्रीभित्र नेकपासहित विभिन्न पार्टीका मन्त्री हुन सक्छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्तारुढ नेकपामा एकीकरणको विषय जटिल बन्दै लम्बिरहेको बेला योगेश भट्टराईले पार्टीमा भावनात्मक एकताको संकेत दिन खोजेका छन् । उनले पूर्व एमालेको पार्टी मुख्यालयसँगै पूर्व माओवादीको पेरिसडाँडास्थित मुख्यालय पुगेर शहीदलाई श्रद्धाञ्जलि अर्पण गरेका छन् । यो सांकेतिक कार्यले योगेश भट्टराई पूर्व माओवादी नेता कार्यकर्ताको मनमा बस्न सफल भएका छन् भने नेकपाभित्र साझा नेताको रुपमा उदाउने पथमा लम्किएका छन् ।

मन्त्री योगेश भट्टराईले बधाई र शुभकामना मात्रै पाएका छैनन्, उनलाई व्यंग्य गर्ने र शंका गर्नेहरू पनि छन् । नेकपाका नेता सूर्य थापाले आफ्नै कारण ढिलो मन्त्री भएको भनेर व्यंग्य गर्दै फेसबूकमा लेखेका छन्, ‘यो जिम्मेवारी कम्तीमा ४ महिनाअघि नै आएको थाहा थियो । त्यतिबेला भएको भए नीति, कार्यक्रम र बजेट निर्माणमा भूमिका हुन्थ्यो र अहिले काम गर्न धेरै सहज हुन्थ्यो । आफ्नै कारणले मन्त्री बन्न ढिलो भयो । आज यथार्थको धरातलमा उभिएर मन्त्री हुनुभएको छ । गन्तव्य एक थान मन्त्री हुनु मात्र किमार्थ होइन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने साविक नेकपा (एमाले) धाराको तपाईं ११ औं व्यक्ति हो । यो मन्त्रालय सम्हालेर र सम्हालिएर अघि बढेका नेताहरूको राम्रैसँग उन्नति र प्रगति भएको छ । आफ्नो विवेक र संस्थागत निर्णयका साथ कार्य गरेर अघि बढ्न चाहिँ धेरै जरूरी छ । खासमा मन्त्री र सेलिब्रेटी दुवै एकसाथ हुन सम्भव नहोला । किनभने, अब वास्तविक परीक्षा शुरू भएको छ । योग्यता, क्षमता र कार्यसम्पादनको समस्या र कमी छैन र होइन । प्रतिकूलताको सामना गर्न आवश्यक आँटको कमी पनि छैन तर परिणाम निकाल्ने सुझबुझ र सामर्थ्य चाहिँ व्यवहारमा नै देखिनु अपरिहार्य छ । हार्दिक बधाई आदरणीय कमरेड तथा नवनियुक्त मन्त्री योगेश भट्टराई ! त्यहाँ अनेकन एम्बुसहरू थापिएको स्पष्टै छ, माफिया र स्वार्थ समूहका घेराबन्दीलाई छिचोलेर उदाहरणीय बन्न सफल कार्यकालको शुभकामना !’

नेता सूर्य थापाले शंका मिश्रित शुभकामना दिइरहँदा सरकारका कामकारवाहीबाट असन्तुष्ट नेत्री तथा सांसद रामकुमारी झाक्रीले समेत शंका गरेकी छन् । उनले फेसबूकमा लेखिन्, ‘आफ्नै कारण अठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनुपर्‍यो । जसको कारण योगेश दाईलाई मन्त्री बनाइयो । सरकार अलोकप्रियताको भूंग्रोमा छ । दाई त्यही भूंग्रोमा पर्नुभयो ऐले । मेरो आमा भन्नुहुन्थ्यो जुन भूंग्रोमा परे पनि निस्कनुपर्छ । हो, भूंग्रोबाट निस्कनुपर्छ हार्दिक बधाई अनि शुभकामना !’

ओली सरकारका मन्त्रीले पटक–पटक प्रधानमन्त्रीको सचिवालयले अनावश्यक हस्तक्षेप गरेको गुनासो गर्ने गर्छन् । त्यही हस्तक्षेपको शंकातिर संकेत गर्दै योगेश भट्टराईले नै ओली सरकारमा मन्त्री नबन्ने बताउने गरेको उनी निकटहरू बताउँछन् । कुनै बेला अनिच्छुक देखिएका योगेश हाल मन्त्री बनेका छन् । तर उनी हस्तक्षेपको शिकार बन्छन् कि बन्दैनन् ? उनीले जनविश्वास कायमै राख्ने गरी काम गर्न सक्छन् ? यी प्रश्नको जवाफ समयले दिँदै जानेछ ।