काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै समस्या रहेको बताएका छन् । मन्त्री भट्टराईले समस्याको समाधानका लागि नयाँ विकल्पको विषयमा छलफल भइरहेको बताए ।
आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई स्तरोन्नति गरिनेसमेत बताए । अध्यागमनमा नयाँ प्रविधिहरु प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
मन्त्री भट्टराईले ट्वीनअटर जहाजहरुलाई प्रदेशतिर सेवा दिन लगाएर काठमाडौंभित्र ठूला जहाजमात्रै प्रयोगमा ल्याउने योजना रहेको बताए ।
आगामी दशकलाई भ्रमण वर्षको रुपमा मनाउनु पर्ने बताएका छन् । भ्रमण वर्षको उदघाटन समारोह जनवरी १ मा हुने र त्यो दिन नेपालका दूतावास रहेका सबै देशका पर्यटन मन्त्रीहरु आउने जानकारी पनि मन्त्री भट्टराईले दिए ।
‘आगामी वर्ष हामीले भ्रमण वर्ष मनाउँदै छौँ, सफल हुनेछ,’ मन्त्री भट्टराईले भने, ‘तर २०२० मै यो अभियान सम्पन्न हुँदैन, आगामी दशकलाई नै भ्रमण वर्षको दशकको रुपमा मनाउनु पर्छ ।’
एनआरएनएको लगानीबाट आफू उत्साहित भएको भन्दै उनले अब भ्रमण वर्ष सफल बनाउन समेत एनआरएनएले भूमिका खेल्नु पर्ने बताए । भ्रमण वर्ष सफल बनाउन एक जना फोकल पर्सन तोक्न मन्त्री भट्टराईले एनआरएनएका अध्यक्षलाई आग्रह गरे ।




प्रतिक्रिया