काठमाण्डु – नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कुलिङ अफ पिरियडको विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अचानक भूत जागेको टिप्पणी गरेका छन्।
यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानबिन गर्नु पर्ने भनेर दाहालले अभिव्यक्ति दिएपछि प्रतिवाद गर्दै भट्टराईले यस्तो आरोप लगाएका हुन्।
भट्टराईले प्रचण्डलाई सम्बोधन गर्दै लेखेका छन्, ‘तपाईँले सङ्घीय निजामती सेवाको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबिन गर्नुपर्ने भनेर मन्तव्य दिनुभएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।’
‘तपाईँ कुलिङ अफ पिरियडका सम्बन्धमा प्रचण्ड अडानमा हो भने मेरो प्रश्न छ २०८० फागुन ११ गते संसदमा विधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुन्थ्यो र तपाईँ कै अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन। यसले स्पष्ट गर्दछ कि तपाईँ कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ?’
उनले आफूहरू विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नु पर्छ भन्ने पक्षमा छौँ र यो विषयको संशोधन हामीले (सांसदहरू) नै राखेको समेत सुनाए। ‘तपाईँले वर्तमान प्रम केपी ओलीमाथि व्यङ्ग्य गर्नु भएछ। सांसदहरूको संशोधन प्रस्तावपछि मात्र यो विषयको बहस सुरु भएको हो,’ उनले लेखेका छन्, ‘छानबिन त तपाईँमाथि नै गर्नु पर्ने हो कि ? आफ्नै बोली आफैँलाई गला पासो नहोस् !’
भट्टराईले प्रचण्ड प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठतम सदस्य रहेको स्मरण गराएका छन्। उक्त समितिले विधेयकमा कुलिङ अफ पिरियड राख्ने निर्णय गरे पनि समितिको प्रतिवेदन संसदमा पेस हुँदा सो व्यवस्थालाई तलमाथि गरिएको भन्दै उनले प्रचण्डको नैतिकतामाथि प्रश्न उठाएका छन्। ‘समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठ्छ होइन र ? अनि छानबिन त तपाईँमाथि नै गर्नुपर्ने हो कि ?’ भट्टराईले लेखेका छन्।





प्रतिक्रिया