काठमाण्डु – निर्वाचन टिकटमा असन्तुष्टि जनाउँदै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई र नेता गोकुल बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीलक्षित टिप्पणी गरेका छन् ।
आसन्न निर्वाचनमा भट्टराई र बास्कोटाले टिकट पाएका छैनन् ।
उपमहासचिव भट्टराईले आसन्न प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार चयन गर्दा न्यायसंगत भयो कि भएन भन्नबारे समीक्षा हुनुपर्ने माग गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार चयनबारे प्रतिनिधिसभा चुनावपछि समीक्षा गर्नुपर्ने पनि उनले माग गरेका छन् ।
उपमहासचिव भट्टराईले सोमबार एक भिडियो सन्देश जारी गर्दै टिकट वितरणबारे चुनाव पछि त्यसको समीक्षा हुनुपर्ने बताएका छन् ।
‘अब फागुन २१ पछि जब एमालेले सरकार बनाउँछ, एमालेको नेतृत्वमा हामी सशक्त ढंगले अगाडि बढ्छौं, त्यसपछि ठण्डा दिमागले त्यसको समीक्षा हुनुपर्दछ,’ भट्टराईले भनेका छन्, ‘मैले पार्टी अध्यक्षलाई भनेको छु कि त्यसको समीक्षा हुनुपर्छ ।
हामीले उम्मेदवार छनोट गर्दा न्यायसंगत ढंगले गर्यौं कि गरेनौं ? मापदण्डहरू बनायौ कि बनाएनौं ? जित्ने, लोकप्रिय, पार्टीप्रति निष्ठावान उम्मेद्वार दियौ कि दिएनौ ? यसको समीक्षा निर्वाचन पछि गरौंला ।’
पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने पनि भट्टराईले आग्रह गरेका छन् । अध्यक्ष ओलीले निष्पक्ष भएर टिकट वितरण गर्नुपर्ने भट्टराईको भनाइ छ ।
उनले पार्टी केन्द्रीय कार्यालयमा ४ बुँदे लिखित फरक मत दर्ज गरेकाले चुनावपछि त्यसबारे अध्यक्ष केपी शर्मा ओलीसँग छलफल र समीक्षा हुने बताएका छन् । उनले अहिलेलाई सबैजना चुनावको तयारीमा लाग्नुपर्ने पनि बताएका छन् ।
यस्तै नेता बास्कोटाले पनि टिकट वितरणमा नेतृत्वमाथि असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न टिकट नपाएका बास्कोटाले पदमा बसेर आफ्नो बद्ख्वाईँ नगर्न भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलक्षित टिप्पणी गरेका छन् ।
आफूले टिकट नपाएको रोष पोख्दै बास्कोटाले भनेका छन्, ‘त्यति मात्र सत्य बोल जति भेट हुदा आँखा जुधाएर कुरा गर्न सकियोस् । जसलाई जे लिनु दिनु छ त्यो गर्नु, तर पदमा बसेर नभएका कुरामा मेरो बद्ख्वाई नगर्नु। म पद लिएर आएको पनि होईन र जाने पनि होईन ।’




प्रतिक्रिया