संसद पुनर्स्थापना हुने योगेश भट्टराईको विश्वास

संसद पुनर्स्थापना हुने योगेश भट्टराईको विश्वास


काठमाण्डु – निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा अदालतबाट विघटन भएको संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘यसलाई ट्रयाकमा ल्याउने मलाई विश्वास छ । यदि यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन् विवेक पुर्याउँछन् । त्यहाँका मान्छेहरु ठिक छन् भने । शतप्रतिशत भन्दा पनि बढी विश्वासका साथ भन्छु संसद पुर्नस्थापना हुन्छ । मुलुकप्रति संविधानप्रति जवाफदेही छन् भने शतप्रतिशत संसद पुर्नस्थापना हुन्छ, हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गर्दा आफूहरुले रोक्न धेरै प्रयास गरेपनि सम्भव नभएको बताउँदै आफुहरुले आइतबारको विकसित राजनीतिक घटनाक्रमसँगसँगै मन्त्री पदबाट राजीनजामा दिएको बताए ।

भट्टराईको विदाइका क्रममा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाकाटोपीका साथै फुलगुच्छा र मायाको चिनो दिएका थिए ।