काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन नगर्ने बताएका छन् ।
शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले भर्खरै सम्पन्न केन्द्रीय कमिटीको बैठकले समेत स्थानीय निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा कुनै निर्णय नलिएको र केन्द्रीय स्तरबाट गठबन्धनको घोषणासमेत नहुने बताएका हुन् ।
यद्यपी उनले आवश्यकताका आधारमा तल्लो तहका कमिटीको सिफारिसमा जिल्ला कमिटीको निर्णयबमोजिम गठबन्धन हुन सक्ने सम्भावना रहेका बताए । उनले भने, ‘पार्टीले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा गठबन्धन वा कुनै तालमेल घोषणा गर्दैन् । आवश्कयता परेमा तल्लो कमिटिको सिफारिसमा सम्बन्धित जिल्ला कमिटिले तालमेल गर्न सक्छ ।’
उनले पार्टी विभाजन भएका बेलामा समेत ६० प्रतिशत स्थानीय तहमा एमालेको जित सम्भव रहेको दावी गरे । ‘मुलुकको लोकप्रिय पार्टी भनेको नेकपा एमाले हो । देशभरी विभिन्न पार्टी परित्याग गरेर प्रवेश गरिरहेको जनलहरले त्यसको पुष्टि गरेको छ । अन्य पार्टी माइनस हुँदा एमाले प्लस प्लस हुँदै गइरहेको छ यही हाम्रो जित्ने आधार हो,’ उनले भने ।




प्रतिक्रिया