वार्षिक १ करोड पर्यटक भित्र्याउँछौं : योगेश भट्टराई

वार्षिक १ करोड पर्यटक भित्र्याउँछौं : योगेश भट्टराई


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वार्षिक १ करोड पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको जानकारी दिएका छन् ।

पर्यटन बोर्डमा विभिन्न महासंघले गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले १० वर्षमा पर्यटन पूर्वधार निमार्ण गरी वार्षिक १ करोड पर्यटक भित्र्याउने बताएका हुन् ।

उनले १० वर्षमा एयरपोर्ट, पूर्व–पश्चिम रेलमार्ग, उत्तर दक्षिण सडक तथा रेलमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटक गन्तव्यलगायतका पूर्वाधार पूर्ण रुपमा विस्तार गरी १ करोड पर्यटक भित्र्याउने मन्त्रालयले योजना बनाएको बताए ।

त्यस्तै नयाँ पर्यटक गन्तव्यस्थल पहिचान गर्ने पनि मन्त्रालयले योजना बनाएको छ ।  मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलको अधिकतम क्षमता ९० लाख मात्रै भएको भन्दै निजगढ विमानस्थलको विकल्प नभएको बताए ।

‘निजगढ विमानस्थलको विकल्प छैन । पर्यावरणको वैकल्पिक व्यवस्था गरी निमार्ण गछौं’, उनले भने, ‘सबैलाई चित्त बुझाएर नै एयरपोर्ट बनाउँछौं। अझै कसैले त्यसको महत्व नबुझेर विरोध गरिरहनुभएको छ । एयरपोर्ट बनेपछि अहिले विरोध गर्नेहरु नै खुसी हुनुहुन्छ ।’