काठमाण्डु – पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । ०७४ सालको निर्वाचनमा एमाले पहिलो शक्ति बनेको थियो । कांग्रेसले उसलाई पछ्याएको थियो । नौमध्ये एमालेले पाँच र कांग्रेसले चार स्थानीय तहका प्रमुख जिते ।
एमालेले फक्ताङलुङ गाउँपालिका, फुङलिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, मौवाखोला गाउँपालिका र पाथीभरा–याङवरक गाउँपालिका जितेको थियो । यस्तै, आठराई–त्रिवेणी गाउँपालिका, मेरिङदेन गाउँपालिका, सिदिङवा गाउँपालिका र सिरिजंघा गाउँपालिका कांग्रेसको पोल्टामा गयो ।
ताप्लेजुङमा अधिकांश गाउँपालिकामा माओवादी तेस्रो शक्तिका रूपमा रहेको थियो । तर, उसले प्रमुख जित्न भने सकेन । सदरमुकामसमेत रहेको फुङलिङमा भने माओवादीले कांग्रेससँग मिलेर उपप्रमुख जितेको थियो ।
गत चुनावमा जिल्लामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नयाँ शक्तिले पनि प्रतिस्पर्धा गरेका थिए । तर, उनीहरूको अवस्था भने निकै कमजोर थियो । यसपटक जिल्लामा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ र नगरेका नौ दल स्थानीय निर्वाचनका लागि दर्ता भएका छन् ।
एमाले सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङमा आगामी स्थानीय निर्वाचनमा एमालेविरुद्ध अन्य दलको गठबन्धन हुने सम्भावना छ । त्यसैले गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । एमालेमा आएको विभाजनको जिल्लामा सामान्य असर देखिन्छ ।
एकीकृत समाजवादीले मत काट्ने भएकाले एमालेको चिन्ता केही बढेको छ । तर, उसले पुरानो हैसियत कायमै राख्ने बताएको छ । थपिएका मतदाता, दलहरूबीच हुने समीकरण, एमालेमा आएको विभाजन, जनजाति समुदायका मत र ०७४ मा निर्वाचित जनप्रतिनिधिका काम नै आगामी चुनावमा हारजितका मुख्य फ्याक्टर बन्न सक्छन् । यसबाहेक दलहरूले कस्ता उम्मेदवार अघि सार्छन् भन्नेले पनि धेरै अर्थ राख्नेछ ।
एमाले सचिव भट्टराईको संघीय निर्वाचन क्षेत्र भए पनि पार्टी फुटेकाले अवस्था पहिलेजस्तो नहुन सक्छ । एमालेलाई आफ्नो गृहजिल्लाको ०७४ को बिरासत जोगाउन कठिन हुन सक्छ । पाँच दलबीच इमानदार तालमेल भए एमालेले पहिले जितेकामध्ये केही गाउँपालिका गुमाउन सक्छ । गठबन्धन नभएको अवस्थामा भने जिल्लामा अहिले पनि एमाले नै पहिलो स्थानमा देखिन्छ । यसबीचमा उसले अन्य दलका केही कार्यकर्ता पनि पार्टीमा भित्र्याएको छ । ०७९ को स्थानीय निर्वाचनका लागि जिल्लामा ८९ हजार ६ सय ८० मतदाता छन् ।
हेर्नुहोस्, ताप्लेजुङका नौवटै स्थानीय तहमा ०७४ को निर्वाचनको वडासम्मकै अंकगणित र थपिएका मतदाताको संख्या इन्फोग्राफमा ।






प्रतिक्रिया