आज योमरी र ज्यापु दिवस मनाइँदै

आज योमरी र ज्यापु दिवस मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आज धान्य पूर्णिमा, योमरी पुन्हि र ज्यापु दिवस मनाइँदैछ । धानको विधिपूर्वक पूजाआजा एवम् दान गरी धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ ।

मंसिरमा धान भित्रयाएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौंको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा मेला लाग्ने गर्दछ ।

यस्तै नयाँ धान भित्रिएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व मनाउँदैछन् । मंसिर शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो पर्वका रूपमा मनाइने योमरी पुन्हिलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ ।

योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।

आजैको दिन ज्यापु दिवस पनि मनाइने गरिन्छ । ज्यापु संस्कृतिको रक्षार्थ २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो । नेपाल भाषामा ‘ज्या’भनेको काम र ‘पू’ भनेको बिउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मेहनती र पौरखको परम्परा नै ज्यापू संस्कृति हो ।

नेवारी समुदायको समेत मूल संस्कृतिको रूपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको छ ।