सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामा ल्याएरै छाड्ने युवासंघको चेतावनी

सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामा ल्याएरै छाड्ने युवासंघको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले निकट राष्ट्रिय युवासंघका नेताहरूले देश बचाउने अभियान सुरु गरेको उल्लेख गर्दै देश जलाउनेहरूसँग सहकार्य नगर्ने चेतावनी समेत दिएका छन् ।

राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले यतिबेला युवासंघले धेरै एजेन्डामध्ये देशको वर्तमान परिस्थितिलाई समीक्षा गर्ने र नयाँ ढंगले अगाडि बढ्न योजनाहरू बनाइरहेको सुनाए ।

अध्यक्ष थेवेले पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू पनि सँगै लिएर अगाडि बढ्ने पनि बताए ।

उनले एमालेका एजेण्डाहरू अनुसार देश बचाउनका लागि आफूहरू केन्द्रित रहेको बताए । उनले देश जलाउनेहरूलाई आफूहरू नसमेट्ने पनि बताए ।

‘युवासंघसँग धेरै एजेन्डाहरू छन् । तर देशको वर्तमान परिस्थितिलाई समीक्षा गरेर नयाँ ढंगले अगाडि बढ्दैछौं । पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू लिएर अगाडि बढिरहेका छौं । एमालेले देश बचाउनेको रक्षा गरेर हिँडेको छ र देश बचाउनेको नेतृत्व गरेको छ । देश जलाउनेहरूलाई हामी समेट्नेवाला छैनौं । देश बचाउने सम्पूर्ण जेन्जीहरूलाई समेटेर अभियान लिएर अगाडि बढेका छौं,’ उनले भने ।

उनले ४६ सालपछिको राजनीतिक परिवर्तनपछि महत्त्वपूर्ण जिम्मेवारीमा बसेका सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे । उनले ०४६ सालपछिको सम्पत्ति छानबिन गर्न एमाले सधैं तयार रहेको बताए । अध्यक्ष थेबेले देश साँच्चै बनाउने हो भने ०४६ पछिको सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे ।

उनले भ्रष्टचार विरुद्धको नारा सबैभन्दा पहिला एमालेले उठाएको भन्दै जेनजीको माग पनि आफूहरूबाटै उठ्न सुरु गरेको दावी गरे । उनले लुसिफर दलालहरूले देश खरानी बनाउने प्रयत्न गरेको बताए । भदौ २४ गते देश बचेको भए पनि त्यसपछि पनि आन्दोलन लम्बाएर देश जलाउने प्रयत्न भएको बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य राजिव पहारीले एमालेले संसद पुन:स्थापनाको निम्ति आन्दोलनलाई अगाडि बढाउने जन दबाब सिर्जना गर्ने बताए । ‘अहिले नेकपा एमालेले संसदको पुन:स्थापनाको निम्ति आन्दोलनलाई र जनदबाबलाई अगाडि बढाउने र पार्टीलाई पुन: व्यवस्थित गर्नको निम्ति महाधिवेशनलाई अगाडि लैजाने सोचमा छ, योजनामा छ । त्यहीँ ढंगबाट अगाडि बढेका छौं,’ उनले भने ।

राष्ट्रिय युवासंघका प्रवक्ता निरोज पौडेलले बालेन शाह र सुदन गुरुङले नै सिंहदरबारदेखि नेपालको सार्वजनिक सम्पत्ति जलाएर नाश गरेको आरोप लगाए । बालेन र सुदनलाई वर्तमान सरकारले कारवाही नगरे तापनि भोलिको दिनमा आउने दलीय सरकारले नछाड्ने चेतावनी दिए ।

‘हामीले खुल्लमखुल्ला भनिरहेका छौं– बालेन, सुदनहरूले नै सिंहदरबार, संसद भवन राष्ट्रपति कार्यालय जलाएका हुन् । यिनीहरूलाई आज सरकारले त कारबाही गर्दैन । तर भोलिको दिनमा दलीय सरकारले कारवाही गर्छ नै । यदि चुनाव भयो भने दलै आउने हो । त्यसबेला उनीहरू कहीँ भाग्न सक्दैनन् ।’

उनले यतिबेला बालेन र सुदन खुल्ला रूपमा हिँडे पनि भोलिका दिनमा कानूनी कठघरामा उभ्याएरै चेतावनी दिए ।