एमालेनिकट राष्ट्रिय युवासंघले प्रतिनिधिसभा चुनाव सफल बनाउन सहयोग गर्ने

एमालेनिकट राष्ट्रिय युवासंघले प्रतिनिधिसभा चुनाव सफल बनाउन सहयोग गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेसँग सम्बद्ध युवा संगठन राष्ट्रिय युवासंघ नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सक्रिय सहयोग गर्ने जनाएको छ ।

अध्यक्ष क्षितिज थेवेले जारी गरेको विज्ञप्तिमा संघले लोकतन्त्र र बहुदलीय व्यवस्थाको संरक्षणका लागि निरन्तर संघर्ष गर्दै आएको स्मरण गर्दै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन आफ्नो भूमिकामा दृढ रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजीको आन्दोलनको जगमा बनेको वर्तमान सरकारको प्रमुख जिम्मेवारी आमचुनाव गराउनु हो र त्यसलाई सफल बनाउन राष्ट्रिय युवासंघ प्रतिबद्ध छ ।’

संघले चुनावजस्तो महत्वपूर्ण प्रक्रियामा केन्द्रित हुनुपर्ने सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताको राहदानी रोक्का गर्ने निर्णय गरी राजनीतिक प्रतिशोध लिएको आभास दिएको जनाएको छ । यस्तो कदमले लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर पार्ने भन्दै संघले आपत्ति प्रकट गरेको छ । पूर्व इन्चार्ज तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण मुद्दा दायर गर्ने तयारी भएको समाचारप्रति संघले गम्भीर ध्यानाकर्षण गराएको छ ।

युवासंघले भदौ २४ गतेको घटनामा संलग्नमाथि कानूनी कारबाही नगर्ने गृह मन्त्रालयको निर्णय दण्डहीनतालाई प्रश्रय दिने भन्दै त्यसप्रति पनि आपत्ति जनाएको छ । संघले नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन जेनजीसहित आमयुवाले उठाएका मागप्रति सचेत छ र तिनको सम्बोधनका लागि प्रारम्भदेखि नै एक्यबद्धता र पहल लिँदै आएको छ । तर सरकार चुनावतर्फ केन्द्रित हुनुको साटो अनावश्यक राजनीतिक प्रतिशोधमा रमाउन खोजेको देखिन्छ ।’

संघले पुन: सरकारलाई आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई सफल बनाउन मूल जिम्मेवारीमा केन्द्रित रहन र अनावश्यक राजनीतिक गतिविधिबाट टाढा रहन आग्रह गरेको छ ।