काठमाण्डु – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाको राजदूतका लागि सिफारिस भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. खतिवडालाई अमेरिकाको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए । प्रधानमन्त्री ओलीले मन्त्रिस्तरिय सुविधासहित खतिवडालाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् । खतिवडाले मन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले नै अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।
राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएलगत्तै सरकारका प्रवक्तासमेत रहेका खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका थिए । अर्थमन्त्रीबाट राजीनामा दिएको २६ दिनपछि खतिवडाले पुनः महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।
खतिवडाको यात्रा
वि.सं. २०१३ साउन ३० गते जन्मिएका खतिवडाले मेची क्याम्पस भद्रुपरबाट अर्थशास्त्र विषयमा स्नातकसम्मको अध्ययन गरेका थिए । उनले त्यसपछि त्रिभुवन विश्व विद्यालयबाट वि.सं. ०३७ मा अर्थशास्त्रमा र वि.सं. ०४० मा जनप्रशासनमा स्नातकोत्तर गरेका थिए । खतिवडाले दिल्ली स्कुल अफ इकोनोमिक्स, दिल्ली विश्वविद्यालयबाट वि.सं. ०४७ मा वित्तीय अर्थशास्त्रमा विद्यावारिधी गरेका थिए ।
वि.सं. ०३९ मा सहायक अनुसन्धान अधिकृतका रूपमा नेपाल राष्ट्र बैङ्कमा प्रवेश गरेका उनले त्यहाँ करिब २० वर्ष बिताएका थिए । खतिवडा वि.सं. ०५७ मा राष्ट्र बैङ्कको कार्यकारी निर्देशकमा बढुवा भएका थिए । राष्ट्र बैङ्कको अनुसन्धान विभाग प्रमुखका रूपमा करिब तीन वर्ष काम गरेपछि उनी वि.सं. ०५८ देखि २०६१ सम्म राष्ट्रिय योजना आयोगको सदस्य भएका थिए । उनले त्यसवेला पञ्चवर्षीय योजना तुर्जमामा महत्त्वपूर्ण योजना दिएका थिए ।
योजना आयोग छाडेपछि खतिवडाले वि.सं. ०६२ देखि तीन वर्षसम्म युएनडिपीको क्षेत्रीय केन्द्र, कोलम्बोमा वरिष्ठ अर्थविद्का रूपमा काम गरेका थिए । त्यसपछि वि.सं. ०६६ असारमा उनलाई तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए । आयोगको उपाध्यक्षमा नौ महिना काम गरेर उनले राजीनामा दिएका थिए ।
वि.सं. ०६६ चैत ९ गते उनी नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त भएका थिए । उनले राष्ट्र बैङ्कको गभर्नर हुँदा घरजग्गा र सेयर कारोबारलाई अनुत्पादक क्षेत्र भन्दै कडाई गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा वि.सं. २०७२ मा पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए । उनले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षण, विकास र नियोजन सम्बन्धित मुद्दा तथा कार्यक्रमहरूको सेमिनारमा पनि सहभागिता जनाइसकेका छन् ।
राष्ट्रिय सभा सदस्यमा ‘इन्ट्री’
२०७४ फागुन २१ गते राष्ट्रिय सभाका सदस्यमा सिफारिस भएका डा. खतिवडा अर्थमन्त्रीमा नियुक्त भएका थिए । गत फागुनमा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाको कार्यकाल पुन ६ महिना थप भएको थियो । गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस प्रिन्टिङ प्रकरणको घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका थिए । राजीनामा दिएपछि उनले सुचना तथा सञ्चार प्रविधि मन्त्रीको समेत काम गर्दै आएका थिए ।
राष्ट्रिय सभा सदस्य पद वि.सं. २०७६ फाल्गुन २० मंगलबार मध्यरातिबाट स्वतः सकिने भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा नबित्दै उनले पुनर्नियुक्ति पाएका थिए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई बुधबार पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
डा.खतिवडा वि.सं. २०५० मा महेन्द्र विद्या भूषण तथा वि.सं.२०५७ सुप्रबल गोर्खा दक्षिण बाहुबाट सम्मानित भएका थिए ।
एउटै व्यक्तिलाई पटकपटक जिम्मेवारी
राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित खतिवडा सांसद भएर मात्रै बस्नु परेन । राष्ट्रियसभामा मनोनित भएपछि उनले देशको महत्वपूर्ण मानिएको अर्थ मन्त्रालयको जिम्मेवारी पाए । त्यसअघि उनले राष्ट्र बैंकको गर्भनर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर काम गरिसकेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई नै मान्ने हो भने एउटै व्यक्ति धेरै पदको जिम्मेवारीमा बस्न मिल्दैन । तर, खतिवडाले भने त्यो सौभाग्य पाइरहे । पटकपटक एउटै व्यक्तिलाई मात्र अवसर दिएको भन्दै नेकपाभित्र पनि असन्तुष्टी बढ्न थालेको छ ।
लामो समय पार्टी र जनताका लागि लड्ने नेताहरुले जिम्मेवारी नपाइरहेको अवस्थामा कर्मचारी क्षेत्रबाट आएका व्यक्तिलाई राजनीतिक क्षेत्रमासमेत सहभागी गराएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना हुन थालेको छ ।




प्रतिक्रिया