सभामुखसँग नेकपाको मागः संसदको मर्यादा जोगाउन प्रधानमन्त्रीलाई निर्देशन दिनुस्

सभामुखसँग नेकपाको मागः संसदको मर्यादा जोगाउन प्रधानमन्त्रीलाई निर्देशन दिनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहलाई सार्वभौम संसदको मर्यादा राख्न सभामुख डोलप्रसाद अर्याल (डिपी) ले रुलिङ (निर्देशन) गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले प्रधानमन्त्री संसदको सबैभन्दा ठूलो नेता भएको संसद नियमावलीको पालना र संसदको मर्यादा राख्ने काम सबैभन्दा पहिला उनैले गर्नुपर्ने तर्क गरे ।

प्रधानमन्त्री बालेन संसद् सनयमावलीको व्यवस्थाअनुसार सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागी नहुने गरेको भन्दै उनले त्यसका लागि समेत सभामुखले रुलिङ गर्नुपर्ने माग राखे ।

‘प्रधानमन्त्रीज्यू यो संसदको सबैभन्दा ठूलो नेता हुनुहुन्छ । सबैभन्दा पहिला यो संसदलाइ कसैले सम्मान गर्नुपर्छ भने, यसको नियम पालना गर्नुपर्छ भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको दल नेता, नेपालको सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले नै सुरुआत गर्नुपर्छ’, दुलालले भने, ‘ सम्माननीय प्रधानमन्त्रीज्यू र यो संसदको सबैभन्दा ठूलो नेता बालेन्द्र शाहलाई हाम्रो नियमावलीअनुसार सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा पनि सहभागी हुनका लागि र उहाँँलाई सहभागी गराउनका लागि समामुखमार्फत रुलिङ गर्न आग्रह गर्न चाहन्छु ।’

दुलालले सीमाबारे संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका ।

‘नेपालले पनि भारतका धेरै ठाउँमा जग्गा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन, स्पष्टीकरण दिन वा संसदको रेकर्डबाट हटाउन आफ्नो दलसहित विपक्षीले लामो समयदेखि माग गर्दै आएको भए पनि सुनुवाई नभएको भन्दै आपत्ति जनाए ।

राष्ट्रियताको विषयसँग जोडिएको उक्त मागबाट पछि हट्न नसकिने उनको भनाइ थियो ।

उनले राज्यको आधिकारिक अभिलेखमा राष्ट्रिय हितविपरीत देखिने कुनै पनि विवादास्पद अभिव्यक्ति राख्न नहुने भन्दै सभामुखलाई यस विषयमा आवश्यक रुलिङ गर्न आग्रह गरे ।

प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराई स्पष्ट जवाफ दिन लगाइए समस्या समाधान हुने उनको तर्क थियो ।

‘यो संसदमा लामो समयदेखि ससम्माननीय प्रधानन्त्रीज्य”ले संसदमा आएर बोल्दाखेरि नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ भन्ने अभिव्यक्तिलाई सच्याउन, स्पष्टीकरण दिन अथवा रेकर्डबाट हटाउन हामीले लामो समयदेखि माग गर्दै आएका छौं । जुन माग हामीले छोड्न सक्ने माग छैन । राष्ट्रियताको सवाल छ, हाम्रो जमिनको सवाल छ । हामी राष्ट्रको लागि आवश्यक पर्दा बलिदान गर्न सक्छौं, शिर बली चढाउन सक्छौं तर राज्यप्रतिको कुनै विवादास्पद भनाइलाई राज्यको कुनै रेकर्डमा राखिराख्न सक्दनौं’, उनले भने, ‘यसलाइ रेकर्डबाट हटाइयोस्, कि सम्माननीय सभामुखज्यूबाट रुलिङ होस, प्रधानमन्त्रीलाई संसदमा बोलाइयोस् । उहाँले यहाँबाट जवाफ दिनुभयो भने यो समस्या समाधान हुन्छ ।’