काठमाण्डु – नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने माथिका मुद्दा कमजोर बनाउन गरिएको प्रयास र भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोधमा प्रदर्शन गरिएको हो ।
विरोध प्रदर्शनमा संघका उपाध्यक्ष महमराज गुरुङले सरकार निर्वाचन सफल गराउनेभन्दा पनि विभिन्न सेटिङको काममा व्यस्त रहेको भन्दै आपत्ति जनाएका छन् ।
उनले भने, ‘सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा काम गरिरहँदा सरकार निर्वाचन सफल गराउनेभन्दा पनि दु:ख गरेर सहकारीमा जम्मा गरिएका सहकारी ठग फौजदारी अभियोग लागेका रवि लामिछानेको मुद्दा फिर्ता लिने जस्ता सेटिङको कामहरू गरिराखेको छ ।’
काठमाण्डु महानगर प्रमुख बालेन शाहप्रति आलोचना गर्दै उनले भने, ‘बालेन शाह भन्ने झुक्किएर भएको मेयरले झापाबाट केपी ओलीसँग चुनाव लड्छ रे निराश भएर फर्किन पर्नेछ ।’
प्रदर्शनका क्रममा युवासंघका कार्यकर्ताले प्लेकार्डहरूको प्रदर्शनसहित सरकार र रवि लामिछानेविरुद्ध नाराबाजी गरेका थिए ।




प्रतिक्रिया