एमाले-वाम गठबन्धनकी चुनावी कमान्डर विद्यादेवी भण्डारी !

एमाले-वाम गठबन्धनकी चुनावी कमान्डर विद्यादेवी भण्डारी !

अध्यक्ष ओलीकहाँ पुगेको छ प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेभित्र वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई आगामी चुनावी कमान्ड बनाउनुपर्ने कुरा उठेको छ। स्थानीय तहको निर्वाचनमा एक्लै या कार्यगत एकतासहित प्रतिस्पर्धा जाँदा पनि पूर्वराष्ट्रपति भण्डारीलाई चुनावी कमान्डर बनाउनुपर्ने आवाज उठ्न थालेको हो।

नेपाली कम्युनिस्ट पार्टीसँग वाम सहकार्यको सम्भावनासँगै तेस्रो व्यक्तिको नेतृत्वमा निर्वाचनमा जानुपर्ने विषयमा पनि छलफल भइरहेको एमाले सचिव महेश बस्नेत बताउँछन्। अहिले पार्टी एकताबारे नभई चुनावी सहकार्यको सम्भावनाका विकल्पमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूबीच छलफल भइरहेको उनले काठमाण्डुपाटीलाई जानकारी दिए।

‘अहिले पार्टी एकताको विषयमा होइन, चुनावमा कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ । त्यसका लागि कस्तो नेतृत्व आवश्यक पर्छ भन्ने पार्टी अध्यक्ष र नेकपा संयोजकसहित अन्य नेताहरूबीच छलफल भइरहेको साँचो हो,’ बस्नेतले भने, ‘निर्वाचनमा अरू शक्तिसँग सहकार्य गरेर जान सक्छौँ। लोकतन्त्र बचाउन लोकतन्त्रवादी शक्ति एक ठाउँमा आउनुपर्ने आवश्यकता महसुस भइरहेको छ। जनता अहिलेको सरकारप्रति आजित भएकाले हामी एक ठाउँमा आएर अभिभावक बन्नुपर्नेछ।’

नेकपाका सह-संयोजक माधवकुमार नेपालले पनि वाम शक्तिहरू एकजुट हुने विषयमा छलफल भइरहेको बताए। लोकतान्त्रिक र वामपन्थी शक्तिमाथि बाह्य हस्तक्षेप बढिरहेको भन्दै उनले देशको हित हेरेर एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याए।

‘वामपन्थी शक्तिहरू एक ठाउँमा आउन कुनै न कुनै नेतृत्वको खोजी त भइहाल्छ। तपाईंले भन्नुभएको पात्रको विषयमा पनि हामी छलफल गर्छौं। वाम शक्तिलाई एक ठाउँमा ल्याएर निर्वाचनमा जान अभिभावकको आवश्यकता पक्कै महसुस हुन्छ,’ नेपालले काठमाण्डुपाटीसँग भने, ‘छलफल बढिरहेका छन्, तर सहमतिको बिन्दुमा पुगिसकेका छैनौँ। पहिले पार्टीलाई कसरी बलियो बनाएर लैजाने भन्ने कुरा भइरहेको छ। सहकार्यको अवस्थामा तेस्रो व्यक्तिलाई कमान्डर मानेर जान विमर्श भइहाल्छ। त्यसमा तपाईंले भनेका पात्र वा अरू पनि आउन सक्छन्।’

एमाले र नेकपाका तेस्रो पुस्ताका नेताहरू पनि चुनावी सहकार्य भएको अवस्थामा भण्डारीको नेतृत्वमा निर्वाचनमा जान सकिने विषयमा सकारात्मक देखिएका छन्। एमालेका युवा केन्द्रीय सदस्य नरेश रोकायाले सहकार्यको स्वरूपले नेतृत्वको टुंगो लगाउने बताए।

‘तत्काल उहाँलाई निर्वाचनमा कमान्डर मानेर जाने विषयमा धेरै जना नकारात्मक हुनुहुन्छ जस्तो मलाई लाग्दैन। तर सहकार्य कस्तो किसिमको हुने र कहाँसम्म पुग्ने भन्ने विषयले निर्धारण गर्छ,’ रोकायाले भने, ‘एमाले एक्लै निर्वाचनमा होमिँदा पनि कमान्डरको आवश्यकता पर्छ। त्यसका लागि अध्यक्षज्यू आफैँले नेतृत्व लिनुहुन्छ जस्तो मलाई लाग्दैन। स्वास्थ्य अवस्था र विभिन्न कारणले उहाँले दोस्रो व्यक्ति अगाडि सार्न सक्नुहुन्छ।’

बादलको विकल्प भण्डारी

गत फागुन २१ को आम निर्वाचनमा एमाले अध्यक्ष ओलीले आफूनिकट नेता रामबहादुर थापा ‘बादल’लाई चुनावी कमान्डर बनाएका थिए। तर चुनावी कमान्ड सम्हालेका बादल उपत्यका छाडेर कहीँ गएनन्। उनले पार्टी कार्यालयमै बसेर चुनाव गुजारे। त्यसबेला बादलको निष्क्रिय भूमिकालाई लिएर पार्टीभित्रै आलोचना भएको थियो। यसपटक भण्डारीलाई सर्वमान्य नेतृत्वका रूपमा अघि सार्नुपर्ने आवाज उठ्न थालेको एमालेका नेताहरू बताउँछन्।

एमालेका एक नेताका अनुसार अध्यक्ष ओलीले अगाडि सारेको अवस्थामा बादलले भण्डारीलाई कमान्डर मान्न तयार छन्। ती नेताले बादलको नेतृत्वमा भएको चुनावी परिणामलाई समेत स्मरण गर्दै स्वच्छ छविको व्यक्तिलाई अघि सार्नुपर्ने तर्क गरे।

ओली नेतृत्वमै चुनाव लड्ने कि भण्डारीलाई अघि सार्ने? एमालेभित्र बहस, वाम सहकार्य भए साझा कमान्डर खोज्नुपर्ने नेताहरूको भनाइ

एमालेभित्र ओलीको विकल्प खोजिरहेका केही नेताहरू पनि भण्डारीलाई मानेर अघि बढ्न तयार देखिएका छन्। भण्डारीले पनि चुनावी कमान्डर हुन चाहेको र त्यसका लागि आफूनिकट नेताहरूसँग छलफलमा रहेको पाइएकव छ। उनले त्यसकै लागि जिल्ला भ्रमणलाई तीव्रता दिएको स्रोतको दाबी छ। उनले एमाले र नेकपाबीच सहकार्य गराउन भूमिका खेलिरहेको पनि स्रोतको भनाइ छ।

कोशी प्रदेशबाट पार्टी सचिवालयमा प्रतिनिधित्व गर्ने एक नेताका अनुसार भण्डारीलाई चुनावी कमान्डर बनाउने विषयमा पार्टीभित्र समर्थन बढिरहेको छ।

‘पूर्वराष्ट्रपतिज्यूलाई एमालेको चुनावी कमान्डर बनाउनुपर्छ भन्ने कुरामा दुई मत हुन्छ जस्तो लाग्दैन। यस्तो भए अध्यक्षज्यूले पनि चुनावी परिणामपछि जिम्मेवारीको प्रश्नबाट अलग रहने अवसर पाउनुहुन्छ। उहाँलाई कमान्डरको जिम्मेवारी दिन थुप्रै नेता तयार देखिन्छन्,’ ती नेताले भने।

उनका अनुसार नेकपासँग चुनावी सहकार्य गरेर अघि बढ्दा पनि भण्डारीलाई साझा नेतृत्वका रूपमा स्वीकार गर्न सकिने सम्भावना छ। समयको मागअनुसार सबैलाई समेट्न सक्ने नेतृत्वको खोजी भइरहेको उनको भनाइ छ।

ओलीसामु प्रस्ताव

ओलीनिकट एमाले सचिव बस्नेतलगायतका नेताहरूले भण्डारीलाई चुनावी कमान्डर बनाएर अघि बढ्दा ओलीलाई अप्ठ्यारो नपर्ने सुझाव दिएका छन्। सचिव शेरधन राईले समेत भण्डारीलाई नेतृत्व दिँदा अन्य राजनीतिक शक्ति जोडिन सक्ने भएकाले यस विषयमा सोच्न ओलीलाई सुझाव दिएको स्रोतको दाबी छ।

‘समयको माग र पछिल्लो समय तल्लो तहबाट उठेको कुरालाई स्वीकार गर्दै चुनावी कमान्डरका विषयमा अरूभन्दा भण्डारी नै उपयुक्त हुने भन्ने कुरा ओलीसामु गुण्डू पुगिसकेको छ। उहाँ पनि यसबारे नकारात्मक हुनुहुन्छ जस्तो लाग्दैन, तर तत्काल निर्णय नआउन सक्छ,’ एमाले सचिवालयका ती नेताले भने।

अध्यक्ष ओलीले यस विषयमा छलफल गर्न सकिने संकेत दिएका छन्। युवा नेता तथा विज्ञहरूले पनि भण्डारीलाई चुनावी कमान्डर बनाउनुपर्ने सुझाव दिएको ती नेताको भनाइ छ। एकजना युवा नेता निरोज पौडेलले पनि स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउन भण्डारीले भूमिका खेल्न सक्ने बताए। तर यस विषयमा औपचारिक र विस्तृत छलफल भइनसकेको उनको भनाइ छ। एमाले सचिवालय बैठकमा पनि चुनावी सहकार्य वा एकल प्रतिस्पर्धालगायतका विषयमा प्रारम्भिक छलफल हुने नेताहरूले बताएका छन्।

एमालेभित्र चुनावी कमान्डरको विषयमा बहस भइरहँदा पार्टीको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। ओली नेतृत्वमै निर्वाचनमा जाने वा भण्डारीलाई दोस्रो तहको नेतृत्व दिएर चुनावी अभियान सञ्चालन गर्ने भन्ने विषय पार्टीका आगामी बैठकले टुंग्याउने नेताहरू बताउँछन्।

ओलीनिकट सचिव भानुभक्त ढकालले पार्टीलाई बलियो बनाउने विषय अहिलेको प्राथमिकता भएको बताए। उनले अपरिपक्व सहकार्यले विगतमा नकारात्मक परिणाम दिएको भन्दै पार्टीलाई आफ्नै बलमा बलियो बनाउने काम पनि सँगसँगै अघि बढाउनुपर्ने बताए।

‘वाम शक्ति एक ठाउँमा आउनुपर्छ, मिलेर जानुपर्छ भन्ने विषय पार्टीभित्र उठिरहेको होला। तर अहिले अरू टुंगिएको छैन। पुरानो अपरिपक्व एकताले हामीलाई थुप्रै पाठ सिकाएको छ। अहिले एमाले बलियो र स्थानीय तहमा पहिलो शक्ति बन्न सक्छ भन्ने विषयमा चिन्ता गरिरहेका छौँ,’ ढकालले भने।

चुनावमा कसको नेतृत्वमा जाने भन्नेबारे अध्यक्ष ओली नेतृत्वमा रहेकाले थप छलफल आवश्यक नरहेको उनले बताए। तर चुनावी कमान्डर कसलाई तोक्ने भन्ने विषय सचिवाल बैठकले टुंग्याउने उनले जवाफ दिए ।

बस्नेतले भने ओलीलाई त्यागी नेता भन्दै आवश्यक परे अरू व्यक्तिलाई अघि सारेर परीक्षण गर्न तयार रहेको बताए। भण्डारीले आफूलाई कुनै पद आवश्यक नरहेको बताउँदै आएको उल्लेख गर्दै उनले पार्टी र निर्वाचनलाई केन्द्रमा राखेर भूमिका खेल्न सक्ने धारणा राखे।

‘पूर्वराष्ट्रपतिज्यूले कुनै पद चाहिँदैन भन्ने कुरा गरिरहनुभएको छ। त्यसकारण उहाँ अब पदभन्दा पार्टी महत्वपूर्ण बनाउन भूमिका खेल्ने व्यक्ति हो। उहाँको अनुभव र क्षमताका आधारमा निर्वाचनमा होमिँदा वाम शक्ति वा एमाले कसैलाई घाटा हुँदैन भन्ने मेरो विश्लेषण छ,’ बस्नेतले भने।

अनुहार फेरेर परिणाम सुध्रिँदैन

राजनीतिक विश्लेषक श्याम श्रेष्ठले पार्टीहरूले जनमुखी काम नगरेको अवस्थामा नेतृत्व परिवर्तन वा चुनावी सहकार्यले मात्रै निर्वाचनमा सफलता सुनिश्चित नगर्ने बताए। पुरानै नेतृत्व र शैलीमा अघि बढ्दा थप धक्का बेहोर्नुपर्ने आकलनका कारण भण्डारीलाई विकल्पका रूपमा अघि सार्न खोजिएको हुन सक्ने उनको विश्लेषण छ।

‘पुरानै कमान्डमा अगाडि बढ्दा चुनावमा अझ ठूलो धक्का बेहोर्न सकिन्छ। त्यसकारण नयाँ अनुहार देखाउन खोजिएको होला। तर अनुहार मात्रै नयाँ देखाएर हुँदैन, त्याग र परिवर्तन भएको कार्यदिशा पनि देखाउन सक्नुपर्छ,’ श्रेष्ठले काठमाण्डुपाटीसँग भने।

उनले पूर्वराष्ट्रपति भइसकेको व्यक्तिले चुनावी कमान्ड सम्हाल्दा पार्टीका अन्य नेताले कत्तिको अपनत्व महसुस गर्छन् भन्ने विषय पनि महत्त्वपूर्ण हुने बताए। ओली र प्रचण्डको राजनीतिक शैली हेर्दा भण्डारीलाई कमान्डर मान्न समस्या नदेखिए पनि सहकार्यको स्वरूप र नेतृत्वको विषय अझै स्पष्ट हुन बाँकी रहेको उनको भनाइ छ।

विश्लेषक हरि रोक्काले पनि नेतृत्वको अनुहार परिवर्तन हुँदैमा वामपन्थी शक्ति निर्वाचनमा पहिलो बन्ने निष्कर्ष निकाल्न नमिल्ने बताए। ‘चुनावी कमान्डरका रूपमा भण्डारी आउन सक्नुहोला, तर एमाले अथवा वाम सहकार्य जुरुक्कै उठेर पहिलो शक्ति बन्ने अवस्थामा पुग्छ कि पुग्दैन भन्ने विषय महत्त्वपूर्ण हो। अनुहार फेरिएकै अवस्थामा जनताले विश्वास गरिहाल्छन् भन्ने विश्लेषण गर्नु ठीक हुँदैन,’ रोक्काले भने।

निर्वाचनमा जनताको विश्वास जित्न पार्टीले अपनाउने कार्यदिशा, नीति, सिद्धान्त र प्राथमिकता महत्त्वपूर्ण हुने बताएका छन्। विगतका गल्तीको समीक्षा गर्दै जनताका मुद्दालाई प्राथमिकता दिन सके मात्रै नेतृत्व परिवर्तनको औचित्य पुष्टि हुने उनको भनाइ छ।

एमालेभित्र एकातिर ओलीकै नेतृत्वमा निर्वाचनमा जाने धारणा छ भने अर्कोतिर भण्डारीलाई चुनावी कमान्डर बनाएर एमाले एक्लै वा वाम सहकार्यसहित अघि बढ्नुपर्ने आवाज उठिरहेको छ। तर भण्डारीलाई औपचारिक रूपमा चुनावी कमान्डर बनाउने विषयमा पार्टीले निर्णय गरिसकेको छैन।