प्रजातन्त्र दिवसले नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गरोस् : उपराष्ट्रपति पुन

प्रजातन्त्र दिवसले नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गरोस् : उपराष्ट्रपति पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । प्रजातन्त्र दिवसको शुभकामना दिँदै उपराष्ट्रपति पुनले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने अपेक्षा लिएको बताएका छन्।

शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले भनेका छन्, ‘‘फागुन ७ गते ऐतिहासिक जनआन्दोलनमार्फत् सार्वभौम नेपाली जनताले निरंकश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिन हो । २००७ सालको आजकै दिन सार्वभौम नेपाली जनताको अजेय शक्तिबाट राणा शासन पराजित भएर प्रजातन्त्र स्थापना भएको थियो ।’

‘नेपालमा युगान्तकारी परिवर्तनको यात्रा शुभारम्भको दिन राष्ट्रिय प्रजातन्त्र दिवस-२०७६ को अवसरमा सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्र प्राप्तीका लागि भएको आन्दोलनमा आफ्नो जीवनको आहुती दिनुहुने महान वीर वीरगंनाहरुलाई स्मरण गर्दै यस अवसरमा उहाँहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु ।’

प्रजातन्त्र प्राप्तिपछि पनि नेपाली जनताले विभिन्न कालखण्डमा ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र संघर्ष गर्नुपरेको उल्लेख गर्दै विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२-६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायतका राजनीतिक उपब्धीहरुलाई संविधानले संस्थागत गरिसकेको उपराष्ट्रपति पुनले जिकिर गरेका छन् ।

राजनीतिक स्थिरता कायम भएसँगै देश विकास र समृद्धिको मार्गमा अग्रसर रहेको बताउँदै पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्दै प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु आजको आवश्यकता रहेको औँल्याएका छन् ।