काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनका (एमसीसी) का विषयमा अध्ययन कार्यदलले अध्ययन गरेर सुझाव मात्रै पेश गर्ने प्रष्ट पारेका छन् ।
बंगलादेशको भ्रमण सकेर स्वदेश फर्किएका परराष्ट्र मन्त्री ज्ञवालीले कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर सुझाव पेश गर्ने तर पारित गर्ने÷नगर्ने विषयमा कुनै निर्णय नगर्ने बताएका हुन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा केही टोलीका नेताहरूले यसको विषयमा प्रष्ट नबुझेकाले अध्ययन गरेर थप प्रष्ट पार्ने अधिकार दिएर कार्यदल गठन गरिएको र कार्यदलले अध्ययन मात्रै गर्ने उनले बताए ।
‘सरकारले एमसीसी साउन मै संसदमा प्रस्तुत गर्नुको तात्पर्य प्रष्ट नै छ । हामीलाई दिएको विषय पनि त्यही हो’, उनले भने , ‘त्यसको बारेमा रहेका अस्पष्टताहरू प्रष्ट पार्न समिति गठन भएको हो । केन्द्रीय समितिमा केही सदस्यहरूले नबुझेको र प्रष्ट पार्न भनेपछि त्यही क्षेत्राधिकार दिएर कार्यदल गठन भएको हो । दोस्रो पटक थपिएको समयभित्रै प्रतिवेदन बुझाउँछौं ।’
नेकपाको केन्द्रीय समिति बैठकले ज्ञवाली सहित झलनाथ खनाल, भीम रावल गरी तीन सदस्यीय कार्यदल गठन गरेको थियो । अहिले कार्यदलले अध्ययन गरिरहेको छ ।
बंगलादेश भ्रमणका क्रममा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग दुई देशको सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल भएको बताए ।




प्रतिक्रिया