आफ्नो छोराछोरीलाई बीएसम्म पढाउनूस्ः नेता नेपाल

आफ्नो छोराछोरीलाई बीएसम्म पढाउनूस्ः नेता नेपाल

‘डुब्न लागेको रौतहट लाई बचाउनु पर्यो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले बृहत्तर ढंगले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

रौतहटको बौद्धीमाई नगरपालिका–८ सरमुजवामा निर्माण हुन लागेको दलित सामुदायिक भवनको आज शिलान्याश गर्दै उनले जिल्लाको समग्र विकासका लागि आफूले सहकार्य गर्ने बताए ।

वरिष्ठ नेता नेपालले जिल्लामा अहिले पनि जकडिएर रहेका बालविवाह र दाइजोप्रथालाई त्यागेर छोराछोरीको शिक्षामा जोड दिन आग्रह गरे । ‘छोराछोरीलाई कम्तीमा बीएसम्म पढाउनुस’, उनले भने, ‘दाइजोको रुपमा अरूको सम्पत्तिमा लोभ नगरौँ ।’

वरिष्ठ नेता नेपालले अरूको सम्पत्तिमा लोभ गर्नुको साटो आफ्नो छोराछोरीलाई उचित शिक्षा दिएर जिम्मेवार नागरिक बनाउन आग्रह गर्दै प्राथमिक शिक्षा हासिल गरिसकेका किशोरकिशोरीलाई प्राविधिक शिक्षा दिनुपर्नेमा जोड दिए ।

प्राविधिक शिक्षा हासिल गर्न जिल्लामा प्राविधिक शिक्षालय स्थापनाका लागि आफूले पहल गर्ने पनि उनले बताए ।

वरिष्ठ नेता नेपालले जिल्लाको उत्तर–दक्षिण जोडने तीन वटा मुख्य सडकहरुको स्तरोन्नति गर्दै ४ देखी ६ लेनसम्म बनाउन सरकारले योजना ल्याएको उल्लेख गर्दै निकट भविष्यमै मेची–महाकली रेल मार्ग निर्माण भई रेल सञ्चालन हुने विश्वास व्यक्त गरे ।

नेकपाका जिल्ला नेता अशोक जयसवालले बाढीले भत्काएको लालबकैया र वाग्मती नदीको बाँधलाई अविलम्ब पुनःनिर्माणका लागि पहल गर्न नेता नेपालसँग आग्रह गरे ।

‘गत वर्षजस्तै यसवर्ष पनि रौतहट जिल्ला डुब्ने सम्भावना बढेको छ,’ उनले भने, ‘डुब्न लागेको जिल्लालाई बचाउनु प¥यो ।’

करिब रु ४० लाखको लागतमा निर्माण हुन लागेको दलित सामुदायिक भवन समाजका लागि अति महत्वपूर्ण हुन्छ । यसले विवाह व्रतबन्ध, सभा सेमिनार, जन्ती राख्न, बैठक बस्न समाजका लागि अति उपयोगी हुने विश्वास गरिएको छ ।

आयोजक बौद्धीमाई नगरपालिका–८ का वडाध्यक्ष उपेन्द्र दासको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

महिला साइकल दौडमा कञ्चन प्रथम

यस्तै राजदेवी मिडिया सेन्टरद्वारा गौरमा आयोजित आठौँ महिला साइकल दौड प्रतियोगितामा गौर– ५ की कञ्चनकुमारी कोइरी पहिलो, राजदेवी–६ की रविना साह दोस्रो र गौर–६ की अञ्चलकुमारी साह तेस्रो भइन् । उनीहरुले क्रमशः रु ५० हजार, ३० हजार र रु २० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो कार्यक्रममा सहभागि सबै २७ महिलाले एक एक थान साइकल प्राप्त गरेका छन् ।

नेकपाका वरिष्ठ नेता नेपालले उनीहरुलाई पुरस्कार तथा साइकल वितरण गरेका थिए ।