काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
मंसिर २६ गतेदेखि २८ गतेसम्म हुन लागेको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने उनले जानकारी गराए । शाहीले काठमाण्डुपाटीसँग कुरा गर्दै नयाँ पुस्ताले नयाँ नेतृत्व खोजेको र पुरानो पुस्तालाई अभिभावक बनाउँदै सल्लाहकार परिषद् र सम्मानित नेताको हैसियतमा राख्ने उल्लेख गरेका छन् ।
‘मैले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरिसकेको छु । धेरैपटक अहिलेका अध्यक्ष र शीर्ष नेताहरुसँग पनि छलफल गरे । उहाँहरुले अन्तिममा साथ दिनुहुन्छ भन्ने अपेक्षा राखेको छु । शीर्ष नेताको सम्मान गर्दै म अध्यक्षमा जसरी उम्मेदवारी दिन्छु र निर्वाचन लड्छु,’ शाहीले काठमाण्डुपाटीसँग भने, ‘यसले परिवर्तन चाहेको छ, हामी अस्ति नै फागुन २१ को निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुको कारण पनि हामीले पुस्तान्तरणलाई अपनत्व नगरेर हो । स्थानीय तहको निर्वाचन प्रदेशको निर्वाचनमा अझै भयावह अवस्था राप्रपाले भोग्नुपर्छ त्यसकारण नेतृत्व पुस्तान्तरण रूपान्तरण र एजेन्डाहरूलाई दरो ढंगले अगाडि बढाउनु आजको दायित्व हो ।’
शाहीले निर्वाचन हुने अवस्था आए पनि आफू चुनाव लड्न तयार भएको बताएका छन् । फागुन २१ गतेको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट शाहीले एकल निर्वाचन जितेका थिए । जुम्लाबाट शाहीले निर्वाचन जित्दा प्रत्यक्षमा राप्रपाले एक सिट प्राप्त गरेको थियो ।
‘एकसिट प्राप्त गरेको घाउ हामी सुकेको छैन । हाम्रा अग्रजहरूलाई म सम्मान गर्न चाहन्छु । किनभने उहाँहरूले पार्टीको एजेन्डा र कार्यदिशालाई लिएर यहाँसम्म आउनुभयो अब हामी नेतृत्व गर्न चाहन्छौं,’ शाही भन्छन, ‘हरेक पार्टीमा पुस्तान्तरण र रूपान्तरणको एजेण्डा आउँदा राप्रपामा चाहिँ किन बलियो रुपमा आएन भन्ने विषय पनि खोतल्नुपर्छ। हामीले आफूले ठूलो कुरा गरेर हुँदैन त्याग र जनतालाई सुहाउँदो नेतृत्व दिन सक्नुपर्छ ।’
आफूसँगै अरु युवा नेतृत्व प्रतिस्पर्धामा आउन चाहे त्यसलाई पनि आफूले सम्मान गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया