राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरमा उपरथी हमाल नियुक्त

राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरमा उपरथी हमाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका उपरथी ईश्वर हमाल फोर्स कमाण्डरमा नियुक्त भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस्ले उपरथी हमाललाई सोमबार फोर्स कमाण्डरमा नियुक्त गरेका हुन् ।हमालले मध्यपूर्वको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्नेछन् । उक्त क्षेत्रमा नेपाललगायत झण्डै ४० देशका सैनिकहरु कार्यरत रहेका छन् । अनडफ मिसनको कार्यवाहक प्रमुख नेपाली सेनाकै उपरथी शिवराम खरेल थिए । उनले सेनाबाटै अवकास पाइसकेका छन् ।

उपरथी हमाल हाल नेपाली सेनाको आर्मी कमान्ड तथा स्टाफ कलेजमा शिक्षाधिकृत तथा नेपाली सेनाले सञ्चालन गर्ने तयारी गरेको ‘नेसनल डिफेन्स युनिभर्सिटी’ प्रमुखको रूपमा कार्यरत छन्  ।

अमेरिकाबाट नेशनल डिफेन्स कोर्स गरेका हमाल  राष्ट्रसंघीय शान्ति मिसनमा उच्च तहमा जिम्मेवारी पाउंने छैटौं सैनिक अधिकारी हुन् । अनडफ मिसनको हेडको रुपमा हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले सन् २०१५ मा जिम्मेवारी पाएका थिए । उपरथी हमाल सन् १९८३ मा आर्टिलरी अधिकृतका रुपमा नेपाली सेनाका प्रवेश गरेका थिए । त्यसका साथै उनले सेनामा रहंदा युद्धकार्य महानिर्देनालयको निर्देशक, सैनिक सचिव र पृतनापतिको रुपमा मध्य पृतनामा जिम्मेवारी सम्हालेका थिए ।

उनी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा समेत चार पटक सहभागी भएका छन् । उपरथी हमालसंग मिलेटरी अवजरभरका रुपमा सन् २००६ मा युएनओसीआई मिसन र लेबनानमा रहेको युनिफिल मिसनमा सन् १९९३ कण्टिजेन्ट मेम्बरका रुपमा सन् २००० मा बटालियन चिफ अपरेशन अफिसर र १९९० मा प्लाटुन कमाण्डरका रुपमा काम गरेको अनुभव छ ।

नेपाली सेनाबाट हमालसहित पूर्वरथी बालानन्द शर्माले सन् ००४ देखि ०६ सम्म हेड अफ मिसन कमान्डरको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी उपरथी चित्रबहादुर गुरुङले सन् २००० देखि ०२ सम्म तत्कालिन राष्ट्रसंघीय महासचिव कोफी अन्नानको सहायक सैनिक सल्लाहकार तथा कार्यबाहक सल्लाहकारको रूपमा काम गरेका थिए ।

त्यस्तै, रथी कृष्णनारायण सिंह थापाले सन् १९९३ देखि ०९५ सम्म इराक तथा कुवेतस्थित शान्ति सेनाको फोर्स कमान्डर, रथी भिक्ट्रीशमशेर राणाले सन् १९९९ देखि २००१ सम्म साइप्रसमा फोर्स कमान्डर, उपरथी पवनजंग थापालेसन् २००७–०८ मा सुडानस्थित फौजको फोर्स कमान्डरको जिम्मेवारी पाइसकेका छन् । सन् २०११ देखी नै गृहयुद्ध सुरु भएपछि संयुक्त राष्ट्रसंघले नेपाललगायत झन्डै ४० देशका सेना गोलानहाइटमा तैनाथ गरेको छ । उपरथी हमालले फोर्स कमाण्डरका साथै हेड अफ द मिसनको समेत जिम्मेवारी सम्हाल्नेछन् ।