काठमाडौँ – सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव टार्न ६४८ स्थानीय तहमा स्वयंसेवक शिक्षक खटाइने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वयंसेवक शिक्षक परिचालन गर्न शुक्रबार दरखास्त आह्वान गरेको छ ।
विद्यालयमा अध्यापन गराउन शिक्षण अनुमतिपत्र (लाइसेन्स) अनिवार्य छ। स्वयंसेवक शिक्षकका लागि भने सम्बन्धित विषयमा स्नातक र स्नातकोत्तर गरेकाले आवेदन दिन सक्नेछन्। अंग्रेजी, विज्ञान, गणित र प्राविधिक धारका विषयमा स्वयंसेवक खटाइने केन्द्रले जनाएको छ।
यी विषयका शिक्षक अपुग रहेका विद्यालयमा आगामी शैक्षिक सत्र (वैशाख) देखि स्वयंसेवक परिचालन गरिनेछ। ७५३ स्थानीय तहमध्ये शिक्षक दरबन्दी कम्ती रहेका ६४८ तहमा मात्र स्वयंसेवक खटाउन लागिएको केन्द्रका महानिर्देशक तुलसी थपलियाले जानकारी दिए।
केन्द्रले दरखास्तसँगै स्वयंसेवक परिचालन गरिने स्थानीय तहको सूची पनि सार्वजनिक गरेको छ। सूचीमा दुर्गमका स्थानीय तहको संख्या धेरै छ। करिब एक हजार ५०० जना स्वयंसेवक शिक्षक खटाउने थपलियाले जनाए। शिक्षा मन्त्रालयले शिक्षण स्वयंसेवक परिचालन कार्यविधि २०७६ स्वीकृत गरिसकेको छ। आर्थिक वर्ष २०७६/२०७७ को बजेट वक्तव्यमा स्नातक र स्नातकोत्तर गरेका विद्यार्थीलाई शिक्षण स्वयंसेवक खटाउने घोषणा गरिएको थियो।
बजेटमा अपुग शिक्षक पूर्ति गर्न १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ। त्यसमध्ये ५० करोड स्वयंसेवक परिचालनमा खर्च गरिने मन्त्रालयले जनाएको छ। विश्वविद्यालयमा पढाइ पूरा गरेका युवाहरूलाई सेवा गर्ने अवसर दिन सरकारले यस्तो व्यवस्था गरेको उनले बताए। ‘अवसरको खोजीमा रहेका युवाले देशको सेवा गर्न पनि पाउने, विद्यालयमा रहेको शिक्षक अभावलाई पनि केही सहयोग पुग्ने स्वयंसेवक शिक्षक कार्यक्रमको लक्ष्य हो,’ उनले भने।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया