काठमाण्डु- नेपाली कांग्रेसले पदाधिकारी संख्या बढाउने गरी विधान संशोधनको प्रस्ताव अघि बढाएको छ। अब कांग्रेसमा एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति र तीनजना महामन्त्री रहने भएका छन्।
सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरी १५औँ महाधिवेशनको बन्दसत्रमा पेस गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए।
संशोधित व्यवस्थाअनुसार चार उपसभापतिमध्ये एकजना वरिष्ठ उपसभापति रहनेछन्। बाँकी तीन उपसभापतिमध्ये एकजना महिला अनिवार्य हुने र तीनैजना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ।
यसअघि कांग्रेसको विधानमा दुईजना उपसभापति रहने व्यवस्था थियो। नयाँ प्रस्तावअनुसार वरिष्ठ उपसभापतिको छुट्टै पद सिर्जना गर्दै उपसभापतिको संख्या चार पुर्याइएको हो।
त्यस्तै, महामन्त्रीको संख्या दुईबाट बढाएर तीन पुर्याइएको छ। तीन महामन्त्रीमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ। उता सहमहामन्त्रीको संख्या पनि १५ बनाइएको छ। यससँग कांग्रेसमा पदाधिकारी अब जम्मा २१ हुनेछन्।
पदाधिकारी संख्या विस्तारसम्बन्धी प्रस्ताव बन्दसत्रबाट पारित भएपछि कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिमा पदाधिकारीको संरचना थप फराकिलो हुनेछ।
केन्द्रीय कार्यसमितिले गरेको निर्णयलाई १५औँ महाधिवेशनको बन्दसत्रमा औपचारिक रूपमा प्रस्तुत गरिनेछ। बन्दसत्रले अनुमोदन गरेपछि मात्रै विधान संशोधनले अन्तिम रूप पाउनेछ।




प्रतिक्रिया