काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले नेकपाको सरकार भाषणमा मात्र सफल भएको प्रतिक्रिया दिएकी छन् ।
प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले दुई वर्षमा कुरा धेरै र काम कम गरेको बताइन् ।
‘यो सरकार दुई वर्षमा भाषणमा सफल र कार्यान्वयनमा पूर्ण रुपमा असफल भएको छ’, उनले भनिन्, ‘सरकारले आफैं निम्ता गरेर चर्चित काण्डहरु घटाएको छ ।’
सांसद संग्रौलाले सरकारले जनतामाथि करको बोझ थोपरेको आरोप लगाइन् । उनले सरकारले विकास पूर्वाधार करको वृद्धि गरेकोमा आपत्ति जनाएकी छन् ।
उनले तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोडको अडियो काण्डको तथ्यसंगत ढंगले छानबिन नगरेको आरोप लगाइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै यो काण्डका न्यायाधीश बनेको आरोप लगाइन् ।
‘आज बैरगमित मन्त्रीलाई सत्यतथ्य छानबिन गरेर कानुनको दायराभित्र ल्याएर कारबाही गर्नुको साटो प्रधानमन्त्री आफैं न्यायाधीश बने– उसले अपराध गरेकै छैन् । बाँस्कोटाले सेक्इुरिटी प्रिन्टिङ प्रेसमा भ्रष्टाचार गरेकै छैन् कठैबरा त्यतिकै आरोप लगाए भनेर उन्मुक्ति दिने प्रक्रिया प्रधानमन्त्रीले थालेका छन् त्यसमा हाम्रो घोर आपत्ति छ’, उनले भनिन् ।
उनले गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा नमारेको दाबी गरिन् ।
‘मन्त्रीको कार्यकक्षमा अख्तियार पसेको छैन् । उनै मन्त्रीका सचिवहरुले रातारात प्रमाणहरु नष्ट गर्न डायरीहरु छापा मारे’, उनले भनिन्, ‘आज प्रधानमन्त्री अख्तियार प्रमुख, प्रहरी, वकिल र न्यायाधीश पनि आफैं बनेर आफ्ना विश्वास पात्रलाई जोगाउन लागि परेका छन् । सत्यतथ्य छानबिन गर्न माग गर्दछौं ।’
उनले बामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउन संविधान संशोधन गरेको भन्दै आपत्ति जनाएकी छन् ।




प्रतिक्रिया