काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता तथा प्रशिक्षण भेला स्थगित भएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम हुने भन्दै सरकारले ठूला सभा समारोह, भोजभतेर लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई आह्वान गरेकाले झापामा आजका लागि तय भएको प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको हो ।
नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले कोरना भाइरसको खतरा हुन सक्ने भन्दै सरकारले नै ठूला समारोह आयोजना नगर्न आग्रह गरेकाले कार्यक्रम स्थगित भएको जानकारी दिए ।
भेलामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापालगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम थियो । नेता खनाल भने सोमबार नै झापा पुगिसकेका छन् ।
गृहमन्त्री थापा भने कार्यक्रम स्थगित हुने जानकारी पाएपछि विमानस्थलबाट फर्किएका छन् । कोरोना भाइरसको जोखिम रहेको भन्दै सरकारकाले भीडभाडमा नजान अपिल गरिसकेको छ ।




प्रतिक्रिया