जनकपुरधाम – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई राजधानी, पहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राखी दूरगामी सोच निर्धारण गर्नुपर्ने खाँचो औँल्याएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाद्वारा आज आयोजित जनकपुरधाम सन् २०४० दूरगामी सोच निर्धारण तथा समावेशी आर्थिक योजना तर्जुमा गोष्ठीको शुभारम्भ गर्दै उनले जनकपुरधामलाई सांस्कृतिक, व्यावसायिक, शैक्षिक तथा स्वास्थ्य शहरका रूपमा विकास गर्न गहन रूपले चिन्तन मनन गर्नुपर्ने बताए ।
मुख्यमन्त्री राउतले जनकपुरधाम माता जानकीको जन्मस्थल तथा विद्वानको भूमि भएकाले सबै तथ्यलाई ध्यानमा राख्दै संसारलाई चिनाउने किसिमले दूरगामी सोच निर्धारण आवश्यक रहेको बताए । प्रदेश सरकार जनकपुरधामको विकास गर्ने सन्दर्भमा हरेक किसिमले सहयोग गर्न तयार रहेको पनि उनले जानकारी दिए ।
मुख्यमन्त्री राउतले सङ्घीय सरकारले वीरगञ्ज चिनी कारखानाको जग्गा बेच्दै गर्नु प्रादेशिक सरकारको अधिकारमाथि हमला भएको बताए । सार्वजनिक जग्गा प्रदेश सरकारलाई हस्तान्तरण नगरी सङ्घीय सरकार पुरानै मानसिकतालाई महत्व दिइरहेको आरोप लगाए ।
उनले सङ्घीय सरकारले पठाएको सचिवहरूले प्रदेशमा काम हुन नदिने मानसिकता बोकेका कारण प्रदेशमा विकासले गति लिन नसकेको र आगामी दिनमा प्रदेश सरकार सङ्घविरुद्ध आन्दोलनमा समेत जान सक्ने बताए ।
उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको समारोहमा नेपाल शहरी उत्थानशील परियोजनाका सल्लाहकार कृष्ण ज्ञवालीले २० पछि जनकपुरधाम कस्तो हुने सोच प्रस्तुत गरे । कार्यशाला भोलिसम्म चल्नेछ ।




प्रतिक्रिया