छिपखोलामा निर्माणाधिन जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

छिपखोलामा निर्माणाधिन जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम – रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ छिपखोलामा बन्दै गरेको ४० किलोवाटको लघु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको लगानीमा आयोजना निर्माण भइरहेको छ । चालू आर्थिक वर्ष्भित्र सम्पन्न हुने गरी काम अगाडि बढाइएको छ । आयोजनाको ८५ प्रतिशत काम सकिएको बताइएको छ ।

आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको एक करोड १४ लाख, गाउँपालिकाबाट २१ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको २० लाख, स्थानीयको सामाजिक कोषबाट सात लाख र स्थानीय ४० घरधुरीबाट प्रतिघर १० हजारका दरले चार लाख लगानी भएको छ ।

उपभोक्ता समिति अध्यक्ष नरहरि पुनले निर्माण सकिन लागेको बताए । गाउँपालिकाले थप बजेट विनियोजन गरेपछि चालू वर्ष्भित्र काम सकिने उनले बताए । छिट्टै बिजुली बल्ने भएपछि स्थानीय उपभोक्ता खुशी भएका छन् ।

विद्युत्गृह तथा लाइन विस्तारका लागि आवश्यक सम्पूर्ण सामग्री आइसकेका छन् । सामग्री जडान गरेर विद्युत् बाल्न मात्रै बाँकी रहेको उनले बताए । गाउँमा आयोजनाको पोल गाड्ने र तार तान्ने काम सकिएको छ ।

बजेट अभावमा आयोजना एक वर्ष ढिलो हुने अनुमान गरिएको भए पनि फागुन १९ गते बसेको कार्यपालिकाको बैठकले विद्युत् शीर्षकको कूल बजेटमध्ये आधा यसमै लगानी गर्ने निर्णय गरेपछि निर्माण सकिने भएको वडा नं २ का वडाध्यक्ष जीवन केसीले बताए ।