सनम शाक्य हत्या प्रकरणः सईको भर पर्दा डीएसपीदेखि एसएसपी सम्मलाई तनाव


काठमाडौं – प्रहरी र अपराध जगत्मा चिरपरिचित नाम हो सई बालकृष्ण सञ्जेल । गुण्डा सर्कलमा कसैले उनलाई भगवान् ठान्छन् त केहीले दुश्मन । विगत लामो समयदेखि महानगरीय अपराध महाशाखाको इन्टेलिजेन्स शाखामा काम गर्दै आएका सञ्जेल विवादास्पद प्रहरी अधिकृत हुन् । उनकै दोहोरो भूमिका र विवादास्पद चरित्रका कारण महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी र डीएसपी प्रजित केसी र मोरङका एसपी अरुणकुमार बिसी गत हप्तादेखि तनावमा परेको स्रोतले बताएको छ ।

गत फागुन १८ मा धरानमा भएको सनम शाक्य हत्या प्रकरणमा सञ्जेलले बद्नियतपूर्वक काम गरेको सार्वजनिक भएको छ । महाशाखा प्रमुख एसएसपी लोहनी र अपरेशनको नेतृत्व गर्ने डीएसपी केसीलाई गुमराहमा पारेर सञ्जेलले मुख्य दोषीलाई बचाउन करोडौंको बार्गेनिङ गरेको भन्दै समाचारहरु बाहिरिएपछि समस्या उत्पन्न भएको स्रोतको भनाइ छ । महाशाखाको विशेष टोलीले गत १९ फागुनमा विराटनगर महानगर–३ स्थित पोखरिया कन्यामार्गमा सडकमा गुड्दै गरेको बा १२ च ५९६३ नम्बरको स्कर्पियोबाट मोरङ उर्लाबारी–७ निवासी सनम शाक्यको शव फेला परेको दाबी गरेर जिल्ला प्रहरी कार्यालय मोरङलाई घटना अनुसन्धानको जिम्मा लगाएको थियो ।

सुन विवादसम्बन्धी उक्त घटनामा पीडित भएका नरेन्द्र कार्की र मोहन काफ्लेलाई जबर्जस्ती प्रतिवादी बनाएर मुख्य आरोपी गोरे भन्ने चूडामणि उप्रेतीलाई भगाउन सञ्जेलको भूमिका रहेको भन्दै पीडितका आफन्तले गृह मन्त्रालयमा उजुरी गरेका थिए । उजुरीपछि गृहले प्रहरी मुख्यालयलाई छानबिन गर्न निर्देशन दिएको थियो ।

गृहको निर्देशनलगत्तै आईजीपी प्रकाश अर्यालले डीआईजी रमेश खरेलको अध्यक्षतामा छानबिन समिति गठन गर्न खोजेका थिए, तर डीआईजी खरेलले समितिमा बस्न अस्वीकार गरेपछि अवकाशको मुखमा रहेका डीआईजी पुष्कलराज रेग्मीको अध्यक्षतामा चार सदस्यीय छानबिन समिति गठन गरेका हुन् । रेग्मीले आगामी २८ गते आईजीपी अर्यालसँगै अवकाश पाउंदै छन् । समितिमा एसएसपी बसन्त लामा, डीएसपी सुदीपराज पाठक र इन्स्पेक्टर भीष्म हुमागाईं सदस्य छन् ।

सार्वजनिक भएको समाचारअनुसार फागुन पहिलो सातातिर चीनको केरुङ नाका हुंदै तस्करी गरेर ल्याइएको ३३ किलो सुन गायब भयो । उक्त सुन कसैले लुट्यो अथवा कसैले लुकायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । स्रोतका अनुसार घटनाको विवरण यस्तो छ ः

उपेन्द्रकान्त अर्यालदेखि नेपाल प्रहरीको आईजीपी हुंदादेखि सुन तस्करीको साम्राज्य चलाउंदै आएका चूडामणि उप्रेती उक्त सुनको मालिक हुन्, जो बजारमा गोरे नामले चिनिन्छन् । हाल प्रहरीको थुनामा रहेका मोहन काफ्ले, नरेन्द्र कार्की र मृतक सनम शाक्य भरिया हुन् । ३३ किलो सुन गायब भएपछि गोरेले सुन खोजिदिन सर्ई सञ्जेललाई अनुरोध गर्छन् । सञ्जेलले सुन आधा आधा बांड्ने शर्तमा गोरेलाई सहयोग गर्ने आश्वासन दिएपछि सुन खोज्ने अभियान सुरु हुन्छ ।

१२ फागुनमा गोरेले भरियामध्येका नरेन्द्र कार्कीलाई काठमाडौं बोलाएर गौरीघाटस्थित एक घरमा बन्धक बनाउँछन् । त्यहां उनलाई चरम यातना दिइन्छ । यातना दिने स्थलमा पुगेका महाशाखाका सर्ई सञ्जेलले पनि सुन ननिकाले गोलीले उडाइदिने धम्की दिन्छन् । जति कुट्दा पनि कार्कीले कुरा नखोलेपछि १५ फागुनमा त्रिभुवन विमानस्थलबाट जहाजमार्फत कार्कीलाई विराटनगर पु¥याइन्छ भने मोहन काफ्ले र सनम शाक्यलाई सिरहाको लहान बोलाएर सोधपुछ गरिन्छ ।
सोही सांझ तीनै जनालाई सुनसरीको इटहरीमा भेला गराएर गोरे र उनका सहयोगीहरूले स्कर्पियो गाडीमा राखेर राति धरानको निर्भाणा कन्ट्री क्लब पु¥याउंछन् । त्यस रातभर होटेलको कोठामा खानासमेत खान नदिई तीनै जनालाई चरम यातना दिइन्छ । रातभर जति कुटपिट गर्दा पनि उनीहरूले केही नबोलेपछि १६ फागुनको बिहानै काठमाडौं जाने भन्दै गोरेले तीन जनालाई स्कर्पियो गाडीमा राखेर मोरङ उर्लाबारीको झारासाझी भन्ने ठाउँको जंगलमा लगेर चरम यातना दिन्छन् । धरानबाट झारासाझी लगेर यातना दिने र सांझ धरानको निर्भाणा कन्ट्री क्लब ल्याउने प्रक्रिया दुई दिनसम्म चल्छ । यस्तै क्रम चलिरहँदा १८ फागुनको दिउंसो विद्युतीय करेन्टको यातना सहन नसकी सनमले मृत्युवरण गर्छन् । कार्की र काफ्ले बांच्न सफल हुन्छन् ।

सनमको मृत्यु भएपछि गोरेले अत्तालिंदै महाशाखाका सर्ई सञ्जेललाई फोन गरेर लासको व्यवस्थापन गरिदिन अनुरोध गर्छन । त्यो बीचमा सञ्जेल र गोरेबीच चलेको बार्गेनिङ पांच करोडमा टुंगिन्छ । मोलमोलाई मिलेपछि सञ्जेलले एसएसपी दिवेश लोहनीलाई भ्रामक रिपोर्टिंग गर्छन् । ‘सर, धरानमा ३३ किलो सुन लिएर आएकाबीच विवाद हुंदा एकजना मरेको छ रे, सुन पनि गाडीमै छ भन्ने खबर आएको छ ।’ सञ्जेलको रिपोर्टिङपश्चात् अन्य बार्गेनिङप्रति अनभिज्ञ रहेका एसएसपी लोहनीले डीएसपी प्रजित केसीको कमाण्डमा सञ्जेलसहित ४ जनाको टोली खटाउंछन् ।

१८ फागुनको साझपख काठमाडौंबाट हिँडेको टोली १९ फागुनको बिहान ३ बजे महाशाखाको प्रहरी टोली धरानको भानुचंोक पुगेर गोरेका चालक टेकराज मल्ललाई भेट्छन् र शवसहितको गाडी नियन्त्रणमा लिन्छन् । त्यसको केही घण्टामा इटहरीको एउटा होटेलबाट यातनाबाट पीडित नरेन्द्र कार्की र मोहन काफ्ले पनि प्रहरी नियन्त्रणमा पर्छन् । त्यो बीचमा सञ्जेलले अपरेशनको नेतृत्व गरेका डीएसपी केसीलाई समेत गुमराहमा पार्दै ‘लाससहितको गाडी र पक्राउ परेका सबैलाई विराटनगर लिएर जाऔं सर, त्यहां गोरे भेटिन्छ, त्यसलाई भेटेपछि सुन पनि भेटिन्छ’ भन्दै उक्साउछन्

सञ्जेलको भनाइमा विश्वास गर्दै अपराधी समातिन्छ भने जाऔं न त भन्दै सोझो पाराले डीएसपी केसी विराटनगर जान राजी हुन्छन् । विराटनगर महानगरपालिका–३ स्थित पोखरिया कन्या मार्गमा गोरे भेटिन्छ भनेर पुगेको प्रहरी टोली गोरे नभेटिएपछि ‘सडकमा गुड्दै गरेको बा१२च ५९६३ नम्बरको स्कर्पियो गाडीबाट मोरङ उर्लाबारी ७ बस्ने वर्ष ३३ को सनम शाक्यको शव फेला परेको, घटनाका मतियार चालक टेकराज मल्ल र अभियुक्तहरू मोहन काफ्ले र नरेन्द्र कार्की पक्राउ परेको, मुख्य अभियुक्त गोरे भन्ने चूडामणि उप्रेती र उनका एक सहयोगी फरार रहेको मुचुल्का गराएर घटनाको अनुसन्धानको जिम्मा मोरङ प्रहरीलाई सुम्पिएर महाशाखाको टोली काठमाडौं फर्किन्छ ।

उक्त विषयमा विवाद देखिएपछि प्रहरी मुख्यालयबाट गठित छानबिन समितिको टोली बिहीबार नै विराटनगर पुगेको छ । उक्त टोलीले घटनास्थलको अवलोकन तथा थुनामा रहेका व्यक्तिहरुको बयान लिने काम शुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा धरानमा भेटिएको लास विराटनगर पु¥याउनुमा प्रहरीको कमजोरी देखिएको छानबिन समितिको निष्कर्ष रहेको स्रोतको भनाइ छ ।

यता महाशाखाका एसएसपी दिवेश लोहनी भने उक्त अपरेशनमा प्रहरीबाट कुनै कमजोरी नभएको दाबी गर्छन् । ‘हामीले हरेक पल पलको घटनाक्रम माथि रिपोर्टिङ गरेका छौं, यसमा प्रहरीको कुनै गल्ती छैन । हामी पीडितका परिवारसँग समन्वय गरिरहेका छौं, फरार भएको मुख्य अभियुक्तलाई पक्राउ गर्नको लागि टोली परिचालन भइसकेको छ,’ लोहनीले भने ।

विवादास्पद प्रहरी अधिकृत सञ्जेललाई आवश्यकताभन्दा धेरै विश्वास गर्दा अहिलेको परिस्थिति उत्पन्न भएको महाशाखा स्रोत बताउँछ । ‘प्रहरीले सही नियतले काम गर्दा पनि एक जना विवादित व्यक्ति र उसको बद्नियतले समस्या पारेको हो,’ महाशाखाका एक अधिकृतले भने ।

त्यसो त सई सञ्जेल यसभन्दा अगाडि पनि पटकपटक विवादमा तानिएका अधिकृत हुन् । बजारमा आफूलाई इन्काउन्टर स्पेशलिस्ट दाबी गर्दै हिँड्ने उनको रवाफ अलि चर्कै देखिन्छ । गुण्डा समूहसंग साँठगांठ गरेर एउटालाई संरक्षण र अर्कोलाई सिध्याउने काममा माहिर मानिने सञ्जेलका कारण महाशाखाका तत्कालीन एसएसपी दिनेश अमात्यले अवधि नपुग्दै सरुवाको कारबाही भोगिसकेका छन् ।

गत साउन २३ मा ललितपुरको कुसुन्तीमा लागूऔषध दुव्र्यसनी प्रविण खत्रीको इन्काउन्टरको नाममा सञ्जेलले गोली हानी हत्या गरेपछि सरकारले एसएसपी अमात्यको सरुवा गरेको थियो । सञ्जेलले त्यसबेला कसैको व्यक्तिगत स्वार्थपूर्तिको लागि खत्रीमाथि गोली प्रहार गरेको चर्चा चलेको थियो ।

प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’लाई उक्साएर त्यसबेला धादिङका राधे भण्डारीलाई खुकुरी हान्न लगाएको सञ्जेलमाथि आरोप लागेको थियो । अहिले उनले चर्चित गुण्डा नाइके चक्रे मिलनको समूहलाई संरक्षण गर्ने र प्रहरीका सबै सूचना चुहाउने गरेको आरोप लागेको छ । आजको सुशासन साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement