काठमाडौं – धनुषामा अपहरणमा परेकी एक बालिकाको उदयपुरबाट उद्धार गरिएको छ । बुधबार दिउँसो धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ का लाल बहादुर मोक्तानी १४ वर्षीया छोरी करिना मोक्तान अपहरणमा परेको भोली पल्ट प्रहरीले उद्धार गरेको हो । नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै प्रहरीले बालिका अपहरण गर्ने १४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरुबहादुर बुढा मगरकाअनुसार बालिकालाई १०–१२ जना व्यक्तिहरुले घरबाट लगेका थिए ।
प्रहरीले उदयपुर र सिरहाको सीमा क्षेत्रबाट ती बालिकाको उद्दार गरेको हो । पक्राउ परेको १४ जनालाई हतियारसहित पक्राउ गरिएको एसपी मगरले जानकारी दिए ।
दुई नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी प्रधुम्म कार्कीले बालिकालाई लडाकु बनाउन अपहरण गरिएको बताएका छन् । पक्राउ परेको अधिकांश २० वर्ष मुनिका रहेका छन् ।
पक्राउ पर्नेहरुमा इलामको फाफोककी २० वर्षीया मुस्कान राई, इटहरीका २८ वर्षीया विवेक खड्का. सर्लाहीको लालबन्दीकी १६ वर्षीया रिता कार्की, इलामका १७ वर्षीय आयुष मगर, ताप्लेजुङका २० वर्षीय विकास राई, उदयपुरका १८ वर्षीय अविनाश तामाङ, उदयपुरका २० वर्षीय आशिष लामा, ताप्लेजुङकी १६ वर्षीय रन्जना राई धनकुटाकी १९ वर्षीय अनिता राई, कैलालीकी १९ वर्षीया अनुष्का राउत, मोरङकी १७ वर्षीया सपना राई, भोजपुरका ४५ वर्षीय मनोरम राई मोरङका १५ वर्षीय आशिष श्रेष्ठ, सिन्धुलीका १९ वर्षीय ईश्वर पुन मगर रहेका छन् ।
पक्राउ परेकाहरुको साथबाट ११ थान सकेट बम ३ थान अमेरिकन पेस्तोल, ऐको राउण्ड ९, प्रेसर कुकर बम १ थान, खुकुरी २ थान, डेनोटर तार २ मिटर र मोबाइल सेट २ थान फेला परेको हो ।
बालिका अपहरणमा परेको खबर पाउनासाथ उदयपुरको सुरक्षा वेश कटारीबाट सई डम्बर बहादुरको कमाण्डमा खटिएको ९ जना र सुरक्षा वेशक्याम्प मिर्चौयाबाट असई सूर्य बहादुर रेग्मीको कमाण्डमा खटिएको ९ जनाको टोलीले कटारीको खसिवास भन्ने ठाउँमा लुकेर बसेका विप्लव कार्यकर्ताहरुलाई घेराबन्दी गरेर अपहरणमा परेकी बालिकाको सकुशल उद्धार गरेको हो । यो सँगै प्रहरीले ठूलो सफलता हात पारेको जानकारी दिएको छ ।
पक्राउ परेकाहरु नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता भएको खुलेको छ । उनीहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया