नयाँदिल्ली- भारतको फरिदाबादमा पार्किङ र पाल्तु कुकुरको विषयलाई लिएर भएको विवादमा पूर्व टेक महिन्द्रा अधिकारी परमजीत धनखडको गोली हानी हत्या भएको छ।
हत्याका आरोपी छिमेकी मोनु शर्मा घटनाकै दिन प्रहरी चौकीमा पुगेर धनखडलाई ज्यान मार्ने धम्की दिएको खुलेको छ।
सिंगापुरमा बस्दै आएका ४५ वर्षीय धनखड पारिवारिक विवाहमा सहभागी हुन नोभेम्बर ५ मा भारत आएका थिए।
शुक्रबार राति घरबाहिर पार्किङको विषयमा विवाद भएपछि शर्माले लाइसेन्स प्राप्त पेस्तोलबाट उनीमाथि करिब १५ राउन्ड गोली चलाएको प्रहरीको भनाइ छ।
नौ गोली लागेका धनखडको घटनास्थलमै मृत्यु भएको थियो। उनका छोरा शौर्यमाथि पनि गोली प्रहार भए पनि उनी गाडीको आडमा लुकेर जोगिएका थिए।
प्रहरीका अनुसार दुई परिवारबीच पार्किङ, साझा गेटमा भएको क्षति र शर्माको कुकुरले पार्किङ क्षेत्रमा दिसा गर्ने विषयमा पटक–पटक विवाद हुँदै आएको थियो। घटनाभन्दा पाँच दिनअघि पनि कुकुरकै विषयमा झगडा भएको थियो।
प्रहरीका अनुसार घटनाकै दिन साझा गेट बिग्रिएको विषयमा शौर्य र शर्माबीच विवाद भएको थियो। त्यसपछि धनखड उजुरी गर्न अंखिर प्रहरी चौकी पुगेका थिए।
प्रहरीले शर्मालाई बोलाएपछि उनले प्रहरीकै अगाडि ‘आज रातिसम्म तिमीलाई जिउँदो छाड्दिनँ’ भन्दै धम्की दिएको स्रोतको दाबी छ। तर, प्रहरीले दुवै पक्षबीच मिलापत्र गराएको बताइएको छ।
स्थानीय बासिन्दाका अनुसार शर्मा राति अबेरसम्म ठूलो आवाजमा गीत बजाउने, हावामा गोली चलाउने र महँगा गाडी तीव्र गतिमा चलाउने गर्थे।
उनको व्यवहारले छिमेकीहरू आजित भए पनि उनीसँग विवाद गर्न डराउने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
शर्मामाथि एक वर्षअघि कर छलीको आरोप लागेपछि वस्तु तथा सेवा कर (जीएसटी) विभागले उनको परिसरमा छापा मारेको विवरणसमेत सार्वजनिक भएको छ।
गोली प्रहारपछि परिवारसहित फरार भएका शर्मालाई प्रहरीले शनिबार बल्लभगढस्थित डीएलएफ चोकनजिकबाट पक्राउ गरेको छ।
धनखडका छोरा शौर्यको उजुरीका आधारमा मोनु भनिने मोहन, उनकी पत्नी दिव्या, छोरा मयंक, छोरी नैना र भाइ हेतरामविरुद्ध हत्या, हत्या प्रयास र आपराधिक षड्यन्त्रसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
धनखड टेक महिन्द्रको एसिया–प्रशान्त क्षेत्रका पूर्व क्षेत्रीय व्यावसायिक प्रमुख तथा सिंगापुरस्थित एफपीटी सफ्टवेयर कम्पनीका वरिष्ठ उपाध्यक्ष थिए। उनी नोभेम्बर २४ मा हुने भतिजाको विवाहमा सहभागी हुने तयारीमा थिए।


प्रतिक्रिया