काठमाण्डु- मध्यपूर्वमा जारी तनाव थप चर्किँदै जाँदा अमेरिकाले इरानमाथिको सैन्य तथा आर्थिक दबाब बढाएको छ।
अमेरिकी सेनाले इरानको नौसैनिक नाकाबन्दी उल्लंघन गर्न खोजेको आरोपमा सेन्ट किट्सको झण्डा बोकेको व्यापारिक पानीजहाजलाई निष्क्रिय पारेको छ।
यसैबीच, ओमानको खाडीमा आगलागी भएको पानीजहाजबाट संयुक्त अरब इमिरेट्स (यूएई)को नेसनल गार्डले २२ जना चालक दलका सदस्यको उद्धार गरेको छ। उद्धार गरिएका सबैको अवस्था स्थिर रहेको जनाइएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले नोभेम्बर ७ मा ‘एमभी हुडा’ नामक पानीजहाजलाई कारबाही गरी निष्क्रिय पारेको जनाएको छ।
उक्त पानीजहाजले इरानमाथि लगाइएको नौसैनिक नाकाबन्दी तोड्न खोजेको अमेरिकी आरोप छ। सेन्टकमले कारबाहीको भिडियोसमेत सार्वजनिक गरेको छ।
ओमानको खासाब क्षेत्रबाट करिब आठ समुद्री माइल उत्तरपश्चिममा अर्को ट्यांकरमा पनि आगलागी भएको छ।
बेलायती समुद्री व्यापार सञ्चालन निकाय (यूकेएमटीओ)का अनुसार शनिबार साँझ भएको घटनापछि चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको छ।
अमेरिकाले इरानका सैन्य सामग्री आपूर्ति हुने स्थलमार्ग र क्यास्पियन सागर हुँदै हुने आवतजावत नियन्त्रण गर्ने प्रयाससमेत तीव्र बनाएको छ। त्यसको जवाफमा इरानले भौगोलिक सीमाको परवाह नगरी प्रतिकार गर्ने चेतावनी दिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकी नाकाबन्दी विस्तार गर्ने योजनालाई ‘शब्दको खेल’ भन्दै खारेज गरेको छ।
फर्स समाचार एजेन्सीका अनुसार आईआरजीसीका प्रवक्ता सरदार मोहेबीले अमेरिकी कदमले इरानी अर्थतन्त्र ध्वस्त पार्ने उद्देश्य पूरा गर्न नसक्ने बताएका छन्।
उनले दुई साताभित्र इरानको अर्थतन्त्र धराशायी हुने अमेरिकी दाबी पनि गलत साबित भएको टिप्पणी गरेका छन्।


प्रतिक्रिया