काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागले शंकास्पद व्यक्तिहरुको फोन ट्यापिङ गर्न पाउने भएको छ । विशेष सेवा ऐन मार्फत टेलिफोन ट्यापिङ गर्न गुप्तचरले यो सुविधा पाउने निश्चित भएको हो । बुधबार बसेको राष्टियसभाको विधान व्यवस्थापन समितिको बैठकमा नेपाली कांग्रेस सहमति जनाएपछि फोन ट्यापिङ गर्ने बाटो खुला भएको हो ।
नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत सर्वसाधारणको फोन टेपिङ गरेर मौलिक हक र गोपनीयताको हक हनन गर्न खोजिएको भन्दै कांग्रेसले लगातार विरोध जनाउँदै आएको थियो ।
‘गुप्तचरी क्रियाकलापका सिलसिलामा विभागले संदिग्ध वा निगरानीमा रहेका व्यक्ति, संघ संस्थाबाट सार्वजनिक सञ्चार माध्यम वा अन्य सञ्चार माध्यमबाट भएका कुराकानी श्रव्य दृष्य वा विधुतिय संकेत वा विवरणलाई निगरानी अनुगमन र इन्टरसेप्सन गर्न तथा अभिलेख गर्न सक्ने छ’, उक्त ऐनको ऐनको दफा १० मा उल्लेख छ ।
फोन ट्यापिङ जुन प्रयोजनका लागि गरिएको हो, सोही प्रयोजनका लागि मात्र प्रयोग हुने र अन्य प्रयोजनमा प्रयोग गरिए दण्डनीय हुने व्यवस्था राखेर फोन ट्यापिङ गर्न दिने सहमति जुटेको हो ।
गुप्तचरलाई यो अधिकारीले विदेशी गतिविधि रोकिने आँकलन गरिएको छ । फोन ट्यापिङको अधिकार दिएर गुप्तचरलाई प्रति जासुसीको जिम्मेवारी समेत दिन लागिएको छ ।




प्रतिक्रिया