कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्धको रिटमा बुधबार सुनुवाइ हुँदै

कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्धको रिटमा बुधबार सुनुवाइ हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ।

कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर गर्दै गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले सरकारको निर्णय बदर गर्न माग गरेका छन्।

रिटमाथि सर्वोच्चले तिहार बिदापछि ३० कात्तिकमा सुनुवाइको मिति तोकेको थियो। तर, सरकारले उक्त दिन छठ पर्वको सार्वजनिक बिदा दिएपछि सुनुवाइ रोकियो ।

तिहार र छठ पर्वको बिदापछि मंगलबारदेखि अदालत खुलेसँगै सर्वोच्च प्रशासनले बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको हो। रिटमाथि एकल इजलासमा सुनुवाइ हुने भएको छ।

सरकारले गत १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। त्यही दिन उनका ब्याची एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी बनाइएको थियो।

सरकारको उक्त निर्णय अन्यायपूर्ण र गैरकानुनी रहेको दाबी गर्दै कार्की न्यायिक उपचारका लागि सर्वोच्च पुगेका हुन्। सर्वोच्चको प्रारम्भिक सुनुवाइले उनको रिटमा अन्य प्रक्रिया कसरी अघि बढ्नेबारे टुंगो गर्नेछ।