वित्तीय अपराध नियन्त्रणमा आईजीपी केसीको कडा निर्देशन, अनुसन्धानलाई प्रविधिमैत्री बनाउन जोड

वित्तीय अपराध नियन्त्रणमा आईजीपी केसीको कडा निर्देशन, अनुसन्धानलाई प्रविधिमैत्री बनाउन जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रहरीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिलाई प्राथमिकता दिने भएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै वित्तीय अपराधको बदलिँदो स्वरूपसँग जुध्न प्रविधिमा आधारित अनुसन्धान अपरिहार्य रहेको बताएका छन्।

‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ नारासहित आयोजित कार्यशालाको मुख्य विषयवस्तु ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी केसीले वित्तीय अपराधमा प्रविधिको बढ्दो प्रयोगसँगै अनुसन्धानका चुनौतीसमेत थपिँदै गएको उल्लेख गरे। उनले यस्ता चुनौतीको सामना गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अवलम्बन गर्नुपर्नेमा जोड दिए।

कार्यशालाले वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीहरूको वस्तुनिष्ठ विश्लेषण गर्नुका साथै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई प्रभावकारी बनाउने उपाय पहिचान गर्ने विश्वास उनले व्यक्त गरे।

वित्तीय अपराध नियन्त्रण र अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। उनले सूचनाको प्रभावकारी आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा समेत जोड दिए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिहरू सहभागी थिए।