एजेन्सी – अस्ट्रेलियामा ३८०० जना चढेको पानीजहाजका यात्रुमा कोरोना भाइरस (कोभिड–१९) भेटिएको छ ।
न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको परीक्षण गरिएकोमा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि गरेका छन् ।
अस्ट्रेलियन सरकारले सिड्नीमा ओर्लिएका २,७०० यात्रुलाई छुट्टै क्वारेन्टाइनमा बस्न बस्न आपत्कालीन चेतावनी जारी गरेको छ ।
सिड्नी फर्कनु अगाडि न्यूजील्यान्ड पुगेको जहाजमा चालकदलका १,००० भन्दा धेरै मानिससहित कूल ३,८०० जना रहेको बताइएको छ ।
स्वास्थ्यमन्त्री हजार्डले भनेका छन्, ‘हाम्रो ठूलो चिन्ता, वास्तवमा निकै ठूलो चिन्ता भनेको सो जहाजमा कोभिड–१९ भएको जानकारी नभई झरेका यात्रुहरू हुन् ।’
उनले दुई यात्रु र एक चालकदलका सदस्यमा कोरोनाभाइरस देखिएको बताए । कोरोनाभाइरस भएको शङ्का लागेका एक व्यक्ति तास्मानिया फर्किसकेको बताइएको छ ।
अस्ट्रेलियामा १०० जनाभन्दा बढी जम्मा हुने अत्यावश्यकका बाहेक सबै भेलामा प्रतिबन्ध लगाएको छ । अस्ट्रेलियामा ७०० सयभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरू छन् ।




प्रतिक्रिया