काठमाडौँ- कोरोना भाइरस (कोभिड–१९) को त्रासले काठमाडौँ उपत्यकाबाट बाहिर जानेको सङ्ख्या एक्कासि बढेको छ । शुक्रबार करिब डेढ लाख जना उपत्यका बाहिर गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यात्रुले भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीबिना यात्रा गरेका छन् ।
जिल्ला फर्किनेको भीडले नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला बल्खुलगायतका बसस्टेसनमा दशैँको जस्तै चहलपहल देखिएको छ । बसपार्कमा यात्रुको चाप बढेको छ । लामो दूरीका बसहरूमा टिकट लिनेहरूको लामो लाइन छ । नयाँ बसपार्कमा शुक्रबार लाइन व्यवस्थित गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । शनिबार उपत्यकाबाट बाहिर जाने बस सबै बुक भइसकेको नयाँ बसपार्कले जनाएको छ ।
उपत्यकाबाट बाहिरिने सवारी र सवारी साधनको सङ्ख्या निक्कै बढेको छ । शुक्रबार ६१ हजार चार सय सवारी बाहिरिएका छन् । गएको बुधबार र बिहीबारभन्दा शुक्रबार दोब्बरले यात्रुको चाप बढेको छ । शुक्रबार अनियन्त्रित रूपमै यात्रुको चाप बढेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
लामो दूरीको बसमा एकैदिनमा टिकट पाइएको छैन । बुधबार र बिहीबार झन्डै तीन लाख यात्रु बाहिरिएको महासङ्घको दाबी छ । सिटौला भन्नुहुन्छ “एक्कासि अनियन्त्रित तरिकाले यात्रुको चाप बढ्यो, यो आपत्कालीन अवस्था हो, यात्रुले पनि बुझ्नु प¥यो, दशैँको टीका भेटाउन जाने जस्तो गर्नुभएन । ” कोरोनाबाट बच्ने सावधानी भने सवारीसाधनमा अपनाइएको छैन । सिटमा मात्र होइन उभिएरै यात्रा गराइएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया