काठमाडाैं – भारतले आवश्यक परेको वेला नेपाललाई चिकित्सक र विशेषज्ञसहितको र्यापिड रेस्पोन्स टिम पठाउने आश्वासन दिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो अफर गरेका हुन् । ज्ञवालीले भारतको अफरलाई स्वागत गरेको र त्यसका लागि भारतलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेशमन्त्री जयशंकरलाई मन्त्री ज्ञवालीले अत्यावश्यक औषधि र खाद्य पदार्थको आपूर्ति थप सहज बनाउनुपर्नेमा जोड दिएका छन् । भारतस्थित नेपाली दूतावासले पनि विदेश मन्त्रालयमा यसबारे छलफल गरेको परराष्ट्र स्रोतले बतायो ।
चीनले पनि नेपाललाई सहयोग गर्ने वचन दिएको छ । शुक्रबार चीनको विदेश मन्त्रालय, जनस्वास्थ्यसँग सम्बन्धित विभाग, स्वास्थ्य कमिसनलगायत अधिकारीले नेपालसहित १८ देशका अधिकारीसँग छलफल गरेका थिए । बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोको स्थायी समितिले गरेको निर्णयका आधारमा चीन सरकारले सहयोग गर्ने अधिकारीहरूले बताएका छन् ।
सबै देशका अधिकारीसँग चिनियाँ अधिकारीले एकैपटक सामूहिक भिडियो कल कन्फरेन्स गर्दैै वुहान सहरमा कोरोना महामारी नियन्त्रणको अनुभवसमेत सुनाएका थिए । उनीहरूले कोरोनाको मूल स्रोतलाई काट्ने, फैलावट रोक्ने र जोखिममा रहेका उमेर समूहका मानिसलाई जोगाउने सूत्र सुनाएका थिए । यो समाचार आजको नयांपत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् ।




प्रतिक्रिया