काठमाडौं – हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिका प्रवेश गर्ने प्रमुख नाका बाहुनीडाँडाको जयरामघाटमा हेल्थ डेस्क स्थापना गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए/नभएको जाँचका लागि नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको हो ।
शनिबार स्थापना गरिएको हेल्थ डेस्कको वडाध्यक्ष रुद्र कुमार राई, सामाजिक विकास शाखा संयोजक किशोर कुमार बस्नेत लगायतले उद्घाटन गरेका छन् ।
हेल्थ डेस्कमा ८/८ घण्टाको फरकमा तीन सिफ्टमा तीनजना स्वास्थ्यकर्मी राखिएको छ । हालका लागि स्वास्थ्यकर्मी सन्तोष शाह, मदन पण्डित छन् ।
काठमाडौं र तराईबाट आउने बस पुलपारी रोकिने र पुलवारीसम्म थोरै थोरै दुरीमा यात्रुलाई हेल्थ डेस्कसम्म सुरक्षाकर्मीले व्यवस्था मिलाएर इन्फारेट थर्मोमिटरबाट ज्वरो नापिने र शंकाको घेरामा भए उनको नाम राखिने छ ।
यसबाहेक, जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी मन्दिर परिसर, जन्तेढुंगा गाउँपालिकाले बंशिलाघाट, खोटेहाङ गाउँपालिकाले लिच्कीराम्चेको रसुवाघाट, ऐंसेलुखर्क गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र र रावाबेंशी गाउँपालिकाले लामिडाँडा विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेर सञ्चालनमा ल्याइसकेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले जानकारी दिए ।




प्रतिक्रिया