काठमाण्डु– इजरायलमा ‘केयरगिभर’ रोजगारीका लागि पठाइदिने भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेका बेला प्रहरीले अन्य पीडितलाई समेत जाहेरी दिन आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार शाखाको पत्र तथा विमल पराजुलीको जाहेरीका आधारमा रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरतप्रसाद चौलागाईंसहित ४ जनालाई पक्राउ गरीएको छ ।
केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले बुधबार सूचना जारी गर्दै थप जाहेरी दिन आग्रह गरेको हो । चौलागाईंसहित ४ जनाविरुद्ध काठमाण्डु जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
नेपाल सरकार र इजरायल सरकारबीच ‘जी टू जी’ प्रक्रियाअन्तर्गत सन् २०२४ मा सञ्चालित केयरगिभर परीक्षामा ३ हजार ४६१ जना उत्तीर्ण भई ‘होल्ड’ सूचीमा रहेका थिए। तीमध्ये १ हजार १५२ जनामध्ये पहिलो चरणमा १५६ जना युवालाई लक्षित गरी आपराधिक समूहले ठगी गरेको पाइएको छ।
प्रहरीका अनुसार प्रतिवादीहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिनजान रहेको दाबी गर्दै मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर तत्काल इजरायल पठाइदिने झुटो आश्वासन दिएका थिए। उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका फर्जी कागजातसमेत देखाएर पीडितबाट रकम असुलेको आरोप छ।
प्रहरीले उक्त प्रकरणमा विभिन्न किसिमले झुक्यानमा परी ठगीमा परेका अन्य पीडितलाई समेत यथाशीघ्र प्रहरीको सम्बन्धित ब्यूरोमा जाहेरी दरखास्त दिन आग्रह गरेको छ।



प्रतिक्रिया