एजेन्सी – पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबारे विभिन्न खाले टिका टिप्पणी हुन थालेका छन् ।
मानिसमा यो भाइरसबारे विभिन्न खालका जिज्ञासाका साथै त्रासको अवस्था पनि फैलिएको छ । यसबाट जोगिन मानिसले मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने गरेका छन् । यो भाइरसको प्रभाव क्षेत्र के के हुन् त ? यसै सन्दर्भमा एक अध्ययनले कोरोना भाइरस हावामा तीन घण्टा बाँच्ने पुष्टि गरेको छ ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले गरेको अध्ययनअनुसार कोरोना संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा निस्कने तरल पदार्थमा रहेका भाइरस हावामै तीन घण्टासम्म बाँच्ने देखिएको छ ।
त्यो भाइरस कागजमा परेमा २४ घण्टा र प्लास्टिक तथा स्टिलमा २–३ दिनसम्म बाँच्ने देखिएको न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्ष छ ।
अध्ययनकर्ताहरूका अनुसार तामामा भने कोरोना भाइरस ४ घण्टा मात्रै बाँच्न सक्ने पाइएको छ। कोरोना भाइरस बढी तापक्रम र आर्द्रता भएको ठाउँमा धेरै बाँच्न नसक्ने र चिसो ठाउँमा बढी समय बाँच्ने अध्ययनकर्ताले बताएका छन् ।
अध्ययनकर्ताहरूका अनुसार यो भाइरस टिस्यु पेपर तथा संक्रमितको सम्पर्कमा रहेका कागजमा २४ घण्टासम्म तथा ढोकाका चुकुल र ह्यान्डल, ल्यामिनेट गरिएका टेबुल वा कम्प्युटरका किबोर्डहमा परेका भाइरस लामो समय जीवित रहन सक्छ ।
कपडामा भने कोरोना कति समय जीवित रहन सक्छ भन्ने विषयमा अध्ययनले केहि भनेको छैन । यस्तै संक्रमितले एकपटक खोक्दा कति कोरोना भाइरस निस्कन्छन् भन्ने अध्ययन भएको छैन तर रुघाखोकीको भाइरस प्रत्येक थोपामा दसौं हजार हुने भएकाले कोरोनामा पनि त्यही अनुमान गरिएको अध्ययन प्रतिवेदनमा छ ।
कोरोना भाइरस हावामै केही घण्टा तथा सतहमा अझ लामो समय बाँच्ने भएकाले मास्क प्रयोग, नियमित हात धुने, ढोकाका चुकुल, रेलिङ, कम्प्युटरलगायत वस्तु सफा गरिरहने गरेमा संक्रमण जोखिम कम हुने अध्ययनकर्ताले जानकारी दिएका छन्। तर सजिलै उपलब्ध हुने स्यानिटाइजरबाट यो भाइरसलाई सजिलै मार्न सकिने अध्ययनकर्ताले बताएका छन् ।




प्रतिक्रिया