काठमाडौं – सरकारले ६० वर्षभन्दा माथिका सबैको कोरोना परीक्षण गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मी, दीर्घरोगी र सघन उपचार कक्षमा रहेकाको समेत कोरोना परीक्षण गर्न थालिएको हो ।
मंगलबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता डा. विकास देवकोटाले अन्य अस्पतालमा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका बिरामी आएमा फिभर क्लिनिक सञ्चालन गरी अस्पतालले आइसोलेसनमा राख्नुपर्ने र कोरोना परीक्षणका लागि नमुना पठाउनुपर्ने व्यवस्था गरिएको जानकारी पनि दिए ।
संक्रमित युवती र कोरोना आशंका गरिएका अन्य १५ जना अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेको उनले जानकारी दिए । तीमध्ये १० जना क्वारेन्टाइनमा र ५ बिरामी आइसोलेसनमा छन् ।
यसैबीच कोरोना भाइरस पोजेटिभ देखिएकी युवती चढेको जहाजमा रहेका सबै व्यक्ति पहिचान भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
फ्रान्सबाट आएकी ती युवतीसँगै यात्रा गरेका व्यक्तिको खोजी गरी पहिचान गरिएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए । संक्रमित युवतीसँग घरमा रहँदा सम्पर्कमा रहेका सबैलाई क्वारेन्टाइनमा पठाइसकेको उनले जानकारी दिए ।
यस्तै अहिलेसम्म ६ सय १० वटा स्वाब परीक्षण गरिएकामा २ जनाबाहेक अन्यमा कोरोना संक्रमण नभएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया