कांग्रेसको नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले भोट हाल्ने

कांग्रेसको नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले भोट हाल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम रहे पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी मतदान सुरु गर्न लागिएको हो।

मतदानका लागि काठमाडौंका तीन स्थानमा सातवटा मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिलाई सहज हुने गरी प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ।

राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।

भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले आफूलाई तोकिएको मतदान केन्द्रमै पुगेर मतदान गर्नुपर्नेछ।

निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदानका क्रममा प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया सुरु हुनेछ। १५औँ महाधिवेशनबाट कांग्रेसको सभापतिसहित नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ।