काठमाडौं – कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पर्यटकहरु अलपत्र परेपछि यती एअरलाइन्स र यसको भगिनी संस्था तारा एअरले उनीहरुको उद्दार गरी आज काठमाडौं ल्याएको छ ।
शनिवार (आज) पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना गरी जम्मा ७५ जना पर्यटकहरुको उद्दार गरिएको छ । १५ जना अमेरिकन नागरिकलाई लुक्लाबाट उद्दार गर्न तारा एअरको विमान तयारी अवस्थामा रहेको छ । मौषमका कारण अहिले लुक्ला एयरपोर्ट बन्द रहेको छ ।
उद्दार हुने पर्यटकहरुमा पोखराबाट २२ जना र लुक्लाबाट ३९ जना गरी जम्मा ६१ जना जर्मन तथा युरोपियन नागरिक रहेका छन् भने लुक्लाबाटै १४ जना अस्ट्रेलियन नागरिक रहेका छन् ।
काठमाडौं स्थित जर्मनी, अस्टे«लियन र अमेरिकन दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर नीजि वायुसेवा कम्पनी यती एअरलाइन्स र तारा एअरले पर्यटकहरु उद्दारका लागि विमान आफ्ना विमानहरु पठाएको हो । यती एअरलाइन्सको ७२ सिट क्षमता भएको ATR-72 9N-AMM विमान पोखरा पठाइएको थियो भने तारा एअरको १८ सिट क्षमता भएको 9N ALO ट्वीन ओटर विमान लुक्ला पठाइएको थियो ।
लुक्लाको लागि त्रिभुवन विमानस्थलबाट पहिलो उडान विहान ८ बजे भएको थियो भने दोस्रो १० बजे, तेस्रो ११ र चौथों उडान १२ बजे भएको थियो । त्यस्तै पोखरामा रहेका पर्यटक लिन यती एअरलाइन्सको विमान १२ बजे प्रस्थान गरेको थियो । त्यस्तै, हिजो यती एयरलाइन्स मार्फत् पोखराबाट ५८ जना युरोपियन तथा स्वीस नागरिकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो ।
यसका साथै तारा एअरले चैत १३ गते लुुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र १४ गते १४ जना अस्ट्रेलियन नागरिक गरी २८ जना पर्यटकहरुलाई लुक्लाबाट उद्दार गरी काठमाडौं ल्याएको थियो । लकडाउन पश्चात् अलपत्र परेका पर्यटकहरुको उद्दारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एअरलाइन्सले जहाज पठाइरहेको छ ।





प्रतिक्रिया