काठमाडौं- नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको हृदयघातबाट निधन भएको छ । संयुक्त राष्ट्र संघको सुडान मिसनमा ‘स्टाफ अफिसर’ का रुपमा खटिएका प्रमुख सेनानी विष्टकोे सुडानस्थीत मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको हो । विष्टको शव अल्फासेरस्थित युएन अस्पालमा राखिएको छ । खार्तुममा पोष्टमार्टम गरेपछि उनको शव नेपाल पठाउने तयारी छ । अपरेशन रुपमा व्रिफिङ्ग गर्दा गर्दै प्रमुख सेनानी विष्ट ढलेको सैनिक स्रोतले जानकारी दिएको छ ।
आवश्यक प्रक्रियापछि प्रमुख सेनानी विष्टको शव संयुक्त राष्ट्रसंघले युएनको एयर एम्बुलेन्समार्फत नेपाल पठाउने तयारी गरेको बुझिएको छ । तर, कोरोनाको महामहारीको कारण उनको शव ल्याउने प्रक्रिया केही दिन ढिला हुने बताइएको छ ।
सैनिक स्रोतले दिएको जानकारीअनुसार सुडानस्थित राष्ट्रसंघको मिसनले पोष्टमार्टमको लागी सुडानी सरकारसंग छलफल गरिरहेको छ । सेनामा ४० बेसिकका अधिकृत विष्ट अव्वल सैनिक अधिकृतका रुपमा चिनिन्थे । विष्टले २०७३ साल फागुनमा स्टाफ सेनाको कमाण्ड एण्ड स्टाफ कलेज पास गरेका थिए । उनले मेजर हुंदा रारामा श्रीदल गूल्मको गुल्मपतिको कमाण्ड गरेका थिए ।
सानेपाका स्थायी बासिन्दा विष्टका एक छोरा र एक छोरी छन् । उनले मिसनमा जानुपुर्व छोराको पासनी र छोरीको गुन्युचोली गरेको पारिवारीक स्रोतले जानकारी दिएको छ ।




प्रतिक्रिया