स्वास्थ्य सामग्री खरिदका लागि ३ वटा दूतावासलाई पत्राचार गर्दै नेपाली सेना

स्वास्थ्य सामग्री खरिदका लागि ३ वटा दूतावासलाई पत्राचार गर्दै नेपाली सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि आवश्यक स्वास्य सामग्री खरिदका लागि नेपालस्थित विभिन्न ३ देशका दूतावासलाई पत्राचार गर्ने तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री विवादमा आएपछि सरकारले सेनालाई खरिदको जिम्मा दिएको थियो ।

सरकारले दिएको जिम्मेवारी अनुसार सेनाले स्वास्थ्य सामग्री खरिदका लागि विभिन्न दूतावासमा पत्राचार गर्ने तयारी गरेको छ । स्रोतका अनुसार सेनाले नेपालस्थित चीन, दक्षिण कोरिया र सिंगापुरका दूतावासलाई पत्राचार गर्न लागेको छ ।

‘सोझै सरकारबाट जीटुजी प्रणालीमा खरिद गर्नका लागि सेनाले विभिन्न दूतावासलाई पत्राचार गरेर आपूर्ति गर्न सकिने सम्भावना र मूल्यबारे जानकारी लिनेछ,’ सैनिक स्रोतले भन्यो, ‘दूतावासको जवाफ प्राप्त भएपछि सेनाले थप निर्णय लिनेछ ।’

कोरोना रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेनालाई बुझाइसकेको छ । स्वास्थ्य मन्त्रालयको सूची लामो भएकाले सेनाले नेपालमा उपलब्ध हुनसक्ने सामग्री प्रतिस्पर्धाबाट स्वदेशमै खरिद गर्ने र अन्य सामग्री मात्रै विदेशी सरकारबाट किन्ने गरी प्रक्रिया अगाडि बढाएको छ ।

सेनाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल सरकारले मान्यता दिएका स्वास्थ्य सामग्री उपलब्ध गराउनेबारे दूतावासलाई पत्राचार गर्दैछ । आईतबार भिडियो सन्देश जारी गर्दै नेपाली सेनाका प्रवक्ता रथी विज्ञानदेव पाण्डेले खरिद प्रक्रियालाई पारदर्शी बनाइने जनाएका थिए ।

‘मन्त्रिपरिषद्को निर्णय हेर्नुभयो भने स्वास्थ्य मन्त्रायलसँग समन्वय गरी रक्षा मन्त्रायलले नेपाली सेनामार्फत जीटुजी प्रक्रियाबाट खरिद गर्ने भनिएको छ । त्यसैले हामीले विभिन्न निकायसँग समन्वय गरेर यथाशीघ्र स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया थालिसकेका छौं,’ उनले भनेका थिए, ‘अहिलेको अवस्थामा सम्बन्धित कम्पनी वा मुलुकमा गएर सामग्री हेर्न सम्भव छैन । त्यसैले सम्बन्धित मुलुक र दूतावासलाई गुणस्तरको विषयमा जवाफदेही बनाउने गरी शर्त राख्नेछौं ।’