पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने

पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा आएका पाहुनालाई समेत स सम्मान आफ्नै घर फर्काउन थालेको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा आएका पाहुनालाई आएकै दिन घर फर्काउने गरेको हो । सो समितिले आज बिहान लमजुङको विचौरबाट पैदल हिँड्दै कृष्णबहादुर नेपालीको घर आएका उनका नातिलाई घर बाहिरै ससम्मान खाना खुवाएर फर्काइएको वडाध्यक्ष सुरज ढकालले जानकारी दिए ।

‘कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि गठित प्रतिकार्य समिति २४सै घण्टा सजग अवस्थामा रहन्छ’, उनले भने, ‘गाउँमा नयाँ मान्छे आएको जानकारी पाउनेबित्तिकै समितिको बैठक बसेर आवश्यक निणर्य गर्छ ।’

समितिले गाउँमा आएका पाहुनालाई की १४ दिन क्वारेन्टाइनमा राख्ने वा बस्न नचाहे खाना खुवाएर स–सम्मान फिर्ता पठाउने गरेको वडाध्यक्ष ढकालले जानकारी दिए । गाउँपालिकाले पालिकाभित्र कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सचेतता अपनाउन भन्दै १४२ वटा टोल प्रतिकार्य समिति गठन गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

‘प्रतिकार्य समितिले गाउँभित्रका लागि अत्यावश्यकबाहेक गाउँ बाहिर पनि जान दिँदैन र गाउँ बाहिरकालाई गाउँमा आउन पनि दिदैँन’, उनले भने । साथै प्रतिकार्य समितिले गाउँपालिकाका सबै टोलमा पुगेर कोरोनाविरुद्धको सचेतना प्रदान गर्ने काम पनि समितिले गर्दै आएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाभित्र प्रवेश गर्ने र बाहिर निस्कने सबैको लागत प्रतिकार्य समूहलेसमेत राख्ने गरेको छ ।

त्यस्तै पालिकाभित्र सञ्चालित एम्बुलेन्स चालकको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएको उनले बताए । ‘विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ’, अध्यक्ष गुरुङले भने, ‘क्वारेन्टाइनमा बसेकाले नियम पालना गरे नगरेकोसमेत दिनहुँ अनुगमन हुन्छ ।’