बुटवल – कोरोना भाइरसको महामारीमा अस्पताल नआउने पाँच जना चिकित्सकमाथि कारबाही सुरू गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो ८/१० दिनदेखि बिना जानकारी अस्पतालमा उपस्थित भएका छैनन् ।
अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले संकटको बेला अस्पतालको सेवाबाट पछि हट्ने जो कोहीलाई पनि राखिरहन आवश्यक नभएको बताए ।
अहिले कोरोनाको कारण सबैतिर संकट भएका बेला सेवाबाट पछाडि हट्नेहरूलाई कारबाही प्रक्रिया सुरू गरिएको बताए ।
अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. वरदान वली र डा. तारा प्रसाद शर्मा, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, इएनटी विभागका डा. प्रकाश न्यौपाने, आकस्मिक विभागमा कार्यरत डा.प्रकृति कार्कीलाई सेवाबाट हटाइएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
नेपालमा पनि कोरोना संक्रमणका बिरामी भेटिन थालेपछि उनिहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा उनुपस्थित थिए ।
अध्यक्ष भट्टराईले संकटको बेलामा सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूलाई कारबाही गरिने बताए । प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा डाक्टरहरूलाई कारवाही गरिएको हो ।
अस्पतालले रिक्त भएको स्थानमा नयाँ चिकित्सक नियुक्त गर्न सूचना पनि प्रकाशित गरेको छ । ३० जना नयाँ चिकित्सकका लागि अस्पतालले आवेदन माग गरेको छ ।




प्रतिक्रिया