नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक प्राप्त गरेको छ ।

बेलायतको वेल्सस्थित ब्रेकनमा असोज २१ देखि २२ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक हासिल गरेको छ ।

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतियोगितामा संयुक्त अधिराज्य बेलायतसहित ३५ राष्ट्रका १३० टोलीले सहभागिता जनाएका थिए । सन् १९६० देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको यो अभ्यासमा नेपाली सेना सन् २०१४ देखि नै सहभागी भइरहेको छ ।

प्रतियोगितामा सहभागी टोलीले करिब ७० पाउन्ड तौल बराबरको उपकरणसहित ४० माइल दूरी २ दिनभित्र पार गर्नुपर्ने हुन्छ । त्यस क्रममा हतियार सञ्चालन, सूचना संकलन, घाइते र बिरामीको व्यवस्थापनलगायत विविध सैनिक कलाहरूको परीक्षण पनि गरिन्छ ।

यसअघि पनि नेपाली सेनाले प्रतियोगितामा सन् २०१७, २०१९, २०२४ र २०२५ मा स्वर्ण पदक हात पारिसकेको छ ।